जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् । बुधबार दिउँसो २ बजे जनकपुरधाम आएका मिश्रले मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै प्रमुख मिश्रले अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।
आफू नेपाली काँग्रेसबाट प्रदेश प्रमुखमा नियुक्त भएपनि अब कुनै पार्टीको व्यक्ति नभएको उनले बताए । उनले भने,‘अब म समग्र देशको मान्छे हुँ, कुनै पार्टीको मान्छे होइन । अब समग्र देशका लागि काम गर्छु ।’
बुधबार जनकपुरधाम आएका मिश्रलाई भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले विमानस्थलमा स्वागत गरेका थिए । प्रदेश प्रमुखको गाउँ पिपराका स्थानीयहरु पनि उनको स्वागतमा विमानस्थल पुगेका थिए ।
प्रदेश प्रमुख मिश्रको स्वागतको क्रममा विमानस्थलमा अत्यधिक संख्यामा भीड बढेपछि सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।
मिश्रलाई सोमबार मन्त्रीपरिषदले गरेको सिफारिशको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । मंगलबार साँझ नै प्रदेश प्रमुख मिश्रले सपथ ग्रहण गरेका थिए ।
प्रतिक्रिया