ताजा समाचार


दाइजो उन्मूलन गर्न पिपरा गाउँपालिकाद्वारा ७ जोडीको सामूहिक बिवाह

द रियल समाचार     २०७७ फाल्गुन १७, सोमबार, २०: ०२ मा प्रकाशित




जनकपुरधाम । दाइजोप्रथा उन्मूलन गर्ने उद्देश्यका साथ महोत्तरीको पिपरा गाउँपालिकाले अध्यक्ष कन्यादान कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

समाजमा व्याप्त दाइजोप्रथालाई अन्त्य गर्ने उद्देश्यले अध्यक्ष कन्यादान कार्यक्रमलाई कार्यान्वयनमा ल्याउँदै ७ जोडीको विवाह समेत सम्पन्न भएको हो ।

महोत्तरीको पिपरा गाउँपालिकास्थित आयोजित विवाह कार्यक्रममा दलित तथा गरिब विपन्न परिवारका ७ जोडीको विवाह सम्पन्न भएको अध्यक्ष विक्रम चौधरीले जानकारी दिए । उनका अनुसार कन्यादान कार्यक्रममा बर बधुको उमेर विवाह योग्य रहे÷नरहेको ख्याल समेत गरिएको थियो ।

दाइजोप्रथाका कारण सवैभन्दा बढी पीडा आर्थिक रुपमा सबल नरहेका व्यक्तिलाई पर्ने गरेकोले त्यस्ता गरिब तथा विपन्नहरुका लागि कन्यादान योजना ल्याइएको उनले बताए । उनले यो कार्यक्रमलाई आफूले निरन्तरता दिने समेत बताए । उनले भने,‘यस वर्ष ७ जोडीको विवाह सम्पन्न भएको छ, आगामी वर्ष अधिक संख्यामा यो कार्यक्रमको लाभ उठाउन सक्नेछन् ।’

सम्पूर्ण बर बधुको वैवाहिक कार्यक्रम मैथिली विधि विधान अनुसार गरिएको उपाध्यक्ष नन्नु देवी दासले बताइन् । वैवाहिक कार्यक्रममा गाउँकै महिलाहरुले विवाहका लोकगीतहरु गाएका थिए । विवाह पछि विदाई स्वरुप दिइने सामानहरु सुन चाँदी, दराज, पलंग लगायतका सामानहरु समेत दिइएको उनले बताइन् ।

पिपरा गाउँपालिकाले दाइजो उन्मूलनका लागि ल्याएको यस कार्यक्रमबाट स्थानीयवासी समेत खुशी देखिएका छन् ।

-फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top