ताजा समाचार


नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

द रियल समाचार     २०७९ श्रावण २१, शनिबार, ०९: २९ मा प्रकाशित




नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ ।

ईडीसीडी तथा विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणमा भदौको दोस्रो सातामा लहर उच्च विन्दुमा पुग्ने र असोजबाट विस्तारै घट्दै जाने आकलन गरिएको हो ।

पछिल्ला दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ असारमा परीक्षण गरिएको नमुनामध्ये ०.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । २० साउनमा आइपुग्दा यो संक्रमण दर बढेर १५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

कोरानोको नर्मल, मध्यम र उच्च खालको अवस्थालाई हेरेर प्रक्षेपण गरिएको ईडीसीडीका एक अधिकारी बताउँछन् ।

‘कोरोनाको चौथो लहर कस्तो अवस्थामा पुग्छ भन्ने निर्धारण विभिन्न कारक तत्वले गर्छ । अहिलेको अवस्था नर्मल र मध्यमको बीचमा रहेको जस्तो देखिन्छ,’ ती अधिकारीले भने । अहिले दैनिक थपिने संक्रमितको संख्या पनि १ हजार आसपास छ । तर यो संख्या आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार संक्रमित हुँदा रोकथामका लागि कति आइसीयू, भेन्टिलेटर, बेड लगायतका अन्य समान चाहिन्छ भनेर तयारीको लागि प्रक्षेपण गरिएको हो ।

धुलिखेल अस्पतालले पछिल्लो हप्ता गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा प्राप्त नतिजा अनुसार ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ ले मुल ओमिक्रोन (बीए.टु) विस्थापित गर्दै लगेको छ ।

ओमिक्रोन मुल (बीए.टु) भन्दा सबभेरियन्ट ‘बीए.फाइभ’ ६० गुणा बढी रफ्तारमा फैलिने भएकाले यो धेरैमा सर्ने धुलिखेल अस्पतालका प्रयोगशाला प्रमुख डा. राजीव श्रेष्ठ बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला पनि सरकारले गरेको आकलनमा सहमत छन् । भन्छन्, ‘अबको तीन–चार हप्तामा संक्रमणको उच्च विन्दुमा पुग्छौं । त्यसपछि बिस्तारै संक्रमण घट्दै जाला ।’
जनस्वास्थ्यविद्हरु समुदाय स्तरमा संक्रमणका केसहरु रहेकाले परीक्षणको दायारालाई बढाउनुपर्ने बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कुल जनसंख्याको ७३.९ प्रतिशतले एक डोज र ७०.६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । यस्तै, २५.५१ प्रतिशत अर्थात् ७३ लाख ३४ हजार ५ सय ५ जनाले बुस्टर डोज लिएका छन् ।

एक चौथाईले मात्रै बुस्टर डोज लगाएकाले सरकारले तत्काल नै थप खोप दिनुपर्ने डा. बास्तोलाको भनाइ छ ।

हालसम्म देखिएको अध्ययनका अनुसार ओमिक्रोनको सबभेरियन्टले मृत्युदर कम देखिए पनि पटक–पटक संक्रमण हुँदा पोस्ट कोभिडका समस्या केही महिनामा पुन देखिने डा. बास्तोलाको आकलन छ ।

स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कर्ण दास भने अबको केही हप्तामा अतिरिक्त खोप लगाउनेहरु बढ्ने दाबी गर्छन् ।

हाल दैनिक पीसीआर र एन्टिजेन गरेर ६ हजारको हाराहारीमा नमूना परीक्षण भइरहेको छ । जसमा संक्रमणदर १५ प्रतिशत पुगेको छ । तर, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी सरकारले प्रर्याप्त रुपमा परीक्षण नगर्दा संक्रमण फैलिरहेको बताउँछन् ।

कोरोनाको संक्रमणदरलाई रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड र खोपलाई प्राथमिकता दिनुपर्ने जनस्वास्थ्यविद्को सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top