ताजा समाचार


सत्तामा जाने कुरालाई लिएर जसपाका चार नेता चार दिशातिर विभाजित

द रियल समाचार     २०७७ चैत्र २, सोमबार, २२: १३ मा प्रकाशित




काठमाण्डौ । सरकारमा जाने कुरालाई लिएर यति बेला जनता समाजवादी पार्टी नेपालमा रडाको मच्चिएको छ । सत्तामा जाने कुरालाई जसपाका चार नेता चार दिशातिर उभिएका छन् ।

संसदीय दलको नेता समेत चुन्न नसकेको जसपामा खास गरी अध्यक्ष महन्थ ठाकुर केपी शर्मा ओली नेतृत्वकै सरकारमा जान तम्तयार छन् । तर अर्का अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराई कांग्रेस र माओवादीसँग मिलेर सत्तामा जानुपर्ने पक्षमा उभिएका छन् ।

यही विवादबीच जसपाका शीर्ष नेताको बैठक सोमबार अपरान्ह बालकुमारीस्थित कार्यालयमा बसेको थियो। सत्तामा जाने विधि र संसदीय दलको नेता चयनका लागि बसेका नेताहरु आज पनि वादविवाद गरेरै उठेका छन् ।

महन्थको रोजाइ ओली
सोमबारको बैठकमा पनि अध्यक्ष ठाकुरले जुनसुकै अवस्थामा पनि ओली नेतृत्वकै सरकारमा जानुपर्ने अडान राखे । उनले अब यही निर्णय कार्यान्वयन हुने विचार राखेका एक नेताले बताएका छन् । ‘अब धेरै सोच्ने कुरा छैन, ओली सरकारमै जाने हो’, उनले बैठकमा भने,‘तपाईंहरु विवाद गरिरहनुहुन्छ तर यसमा अब दायाँबायाँ हुँदैन ।’
ओलीलाई हटाएर जाऊँ : बाबुराम–उपेन्द्र
पछिल्लो समय प्रधानमन्त्री ओलीविरुद्ध आक्रमक भएका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि हालतमा महन्थको पक्षमा उभिन तयार देखिएनन् ।

उनीहरु दुवैजनाले बैठकमा एक स्वर बनाउँदै ’बरु पार्टी नै फुटे फुटोस् तर ओली सरकारमा जान सकिँदैन’ भन्ने धारणा राखेको जसपाका एकजना नेताले बताए । तर उनीहरुको प्रतिवाद गर्दै महन्थले आफूहरुका माग सबैभन्दा राम्ररी ओलीले सुन्ने तर्क गरेका थिए । ’किन अरु कसैसँग दुस्मनी मोल्ने’, ठाकुरले बैठकमा भने, ’अब सरकारमा जाऊँ, ढिला नगरौँ ।’

सरकारमा जाने विषयलाई लिएर ठाकुरसँग कुरा नमिलेपछि बाबुराम र उपेन्द्र बैठक छाडेर हिँडेका थिए । त्यसपछि आज पनि जसपा शीर्ष नेताबीच सहमति जुटाउने प्रयास विफल हुन पुग्यो ।

जसपमा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीप्रति नरम र नजिक देखिएका छन् । तर बाबुराम र उपेन्द्र भने कुनै हालतमा ओलीलाई सरकारबाट विदा गरेर अर्कैको नेतृत्व या आफैँ नेतृत्व गरेर सरकारमा जाने रणनीतिमा जुटेका छन् ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top