ताजा समाचार


मिथिलाको महाकुम्भ मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु

द रियल समाचार     २०७७ फाल्गुन २९, शनिबार, १०: ४२ मा प्रकाशित




जनकपुरधाम । विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत रुपमा सुरु भएको छ।

याे धार्मिक पदयात्रालाई नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावकाे प्रतीकको रुपमा पनि चिनिन्छ।

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भई १५ दिनसम्म चल्नेछ। परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहने गरेको छ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको हो।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो।

आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु भोलि बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरको लागि प्रस्थान गर्नेछन्।

फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत रुपमा शुरुवात हुने परम्परा रहेको अग्नीकुण्डका महन्थ नवल किशोर शरणले बताए।

परिक्रमामा सहभागीहरु क्रमशः फुलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णीमाका दिन जनकपुरधाम फर्कने छ।

मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंकाे सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासले बताए।

परिक्रमामा सहभागिहरुको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ। परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन्। स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउराको प्रवन्ध मिलाउँछन् ।

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावकाे प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो। यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ।

परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैद्यनाथधामका साधुसन्तहरु समेत उल्लेख्य रुपमा सहभागी हुने गर्दछन् ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ।

फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top