ताजा समाचार


दोभान बजारमा लागेको आगो नियन्त्रणमा, राहत उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

द रियल समाचार     २०७७ फाल्गुन १८, मंगलवार, १५: ४३ मा प्रकाशित




ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् ।

उनले भनिन्, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना डेरावाल समेत आगलागीबाट पीडित बनेका छन् ।’
दुई वटा दमकलको प्रयोग गरेर बस्तीमा लागेको आगो नियन्त्रणमा लिइएको खड्काले बताइन् । जलेका घरमा रहेको आगो निभाउने काम भइरहेको र थप जोखिम नरहेको उनको भनाइ छ ।

बजारमा लागेको आगो बस्ती नजिकै रहेको जंगलमा सल्किएका कारण त्यसलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको खड्काले बताइन् ।
आगलागीमा परेका पीडितहरुलाई बस्ती नजिकैको खाली ठाउँमा टेन गाडेर बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताइन् । उनले भनिन्, ‘उद्योग वाणिज्य संघ ताप्लेजुङले अग्नि पीडितहरुलाई खानेकुराको प्रवन्ध गर्ने र रेडक्रसले लत्ताकपडाको व्यवस्था मिलाउने आपतकालीन बैठकले निर्णय गरेको छ । सोही निर्णय अनुसार अहिले काम भइरहेको छ ।’

आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिले भन्न सकिने अवस्था नरहेको उनले बताइन् । पीडितहरुलाई तत्काल बस्न र खानाका लागि व्यवस्थापन गरेपछि क्षतिबारे लगत संकलन गरिने उनले बताइन् । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने भएपनि यसबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने पनि बताए । प्रधानमन्त्री ओलीले भने, ‘राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्छ र जनताको समस्या तत्काल समाधान गर्छ ।’ उनले प्रदेश १ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन दिए ।

आगो नियन्त्रणमा आइसकेको र सुरक्षाकर्मीले उद्धारको काम गरेको प्रधानमन्त्रीले बताए । ‘मलाई अत्यन्त दुःख लागेको छ, हाम्रा बस्तीहरु जल्नु ज्यादै दुःखको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा सुरक्षाकर्मीहरु त्यहाँ पुगिसकेका छन् । उद्धार गर्ने कामहरु गरिसकेका छन् ।’
–अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top