ताजा समाचार


अदालतले संविधान अनुसारको निर्णय सुनायो : पूर्व राष्ट्रपति यादव

द रियल समाचार     २०७७ फाल्गुन १३, बिहीबार, १९: ०१ मा प्रकाशित




जनकपुरधाम । पूर्व राष्ट्रपति डा.रामवरण यादवले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेर देशलाई ठुलो दुर्घटनाबाट जोगाएको बताएका छन् ।

नेपाली राजनीतिका शिखर पुरुष गान्धीवादी नेता स्वर्गीय महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्ती समारोहमा प्रमुख अथितिको आसनबाट बोल्दै पूर्व राष्ट्रपति डा.यादवले अदालतले संविधान अनुसारको निर्णय सुनाएको बताउँदै यो ठुलो नजिर बनेको दाबी गरे ।

अदालतको यस फैसलाबाट लोकतन्त्र र संघीयतामाथि विश्वास गर्ने सम्पूर्ण नेपाली जनताको जीत भएको उनले बताए । उनले भने,‘संविधानमाथि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर देशमा ठुलै राजनीतिक वितण्डा मचाएका थिए । तर, सम्मानित सर्वोच्च अदालतले वहाँहरुको यस कदमलाई गलत ठहर गर्दै जनतालाई ठुलो उपलब्धी प्रदान गरेको छ ।’

डा.यादवले राजनीतिक दलहरु विधि विधान अनुरुप चल्न नसकेकाले लोकतन्त्रमाथी पटक पटक प्रहार हुँदै आइरहेको समेत बताए । राजनीतिक पार्टीहरु आफ्नो विधान अनुरुप नचलेकै कारण नेपालमा लोकतन्त्रमाथी आघात पुगिरहेको उनको भनाई थियो । उनले नेपाली काँग्रेसलगायत देशका अन्य कुनैपनि राजनीतिक दलसँग वर्तमान समयमा आर्थिक अनुशासन नरहेको समेत आरोप लगाए । पूर्व राष्ट्रपति डा.यादवले सम्पूर्ण राजनीतिक दलहरुलाई लोकतन्त्र मजबुत बनाउन विधि विधान अनुसार अगाडी बढ्न आग्रह गरे । उनले राजनीतिक दलहरु विधि विधान अनुसार चलेन भने लोकतन्त्रको जग कमजोर हुँदै जाने दाबी समेत गरे ।

कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायवादी कदम पश्चात मुलुक फेरी ३ वर्ष पछाडी धकेलिएको आरोप लगाए । उनले प्रधानमन्त्रीले मुलुकलाई ३ वर्ष पछाडी धकेलेकाले नेपाली जनताले यसको क्षतिपुर्ती गराएरै छाड्ने बताए ।

उनले स्वर्गीय निधिको राजनीतिक जीवन सम्पूर्ण राजनीतिज्ञका लागि अनुकरणिय रहेको बताए । उनले भने,‘यो परिवर्तनशिल संसारमा स्वर्गीय निधिले एउटै विचारलाई आंगालेर जीवन पर्यन्त अगाडी बढिरहेकोले उनी नेपाली राजनीतिको शिखर पुरुष बन्न सफल भए ।’
२०५१ सालमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गर्दा विकल्पको रुपमा महेन्द्रनारायण निधिलाई किन खोजिएन यो यक्ष प्रश्न अझै हामी सामु रहेको मन्त्री सोनलको भनाई थियो ।

निधिले जनताको अधिकार, समानताका लागि जसरी संघर्ष गरिरहे त्यो पक्कै पनि हाम्रो लागि उदाहरणीय रहेको बताउँदै मन्त्री सोनलले उनको सपना अझै पूरा हुन नसक्नु दुःखद रहेको बताए ।

को हुन् महेन्द्रनारायण निधि ?
महात्मा गान्धीको विचार र क्रान्तिबाट प्रभावित भएका निधि नेपाली कांग्रेसका संस्थापक नेता थिए । २००३ सालदेखि नेपाल राष्ट्रिय कांग्रेसबाट राजनीतिको शुभारम्भ गरेका निधिलाई २००७ सालको क्रान्तिका बेला पार्टीले जनकपुर, महोत्तरी र सर्लाही क्षेत्रको ‘जनसरकारको प्रधानमन्त्री’ पदमा नियुक्त गरेको थियो ।

राणाकालमा स्थानीय युवकलाई संगठित गर्न उनले किर्तन मण्डली सञ्चालन गरेर गाउँगाउँमा रामलीला तथा भजनकीर्तनका माध्यमले स्थानीय युवकलाई राणा शासनविरुद्धको क्रान्तिमा ओरालेका थिए । २००८ देखि २०१० सालसम्म तत्कालीन महोत्तरी जिल्लाको कांग्रेस सभापति बनेका थिए । २०१० देखि २०१५ सालसम्म पार्टीको संसदीय सचिवको रूपमा काम गरेका निधि २०१५ सालको आमनिर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा पहिलोपटक निर्वाचित भई उपसभामुख बनेका थिए ।

२०१७ सालमा राजा महेन्द्रबाट प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएपछि प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार भएका निधिले करिब १० वर्ष जेल जीवन बिताएका थिए । २०१८, २०२६ र २०२९ सालमा उनी जेल परेका थिए । अहिंसाका पक्षधर निधिले सुवर्णशमशेर र विश्वेश्वरप्रसाद कोइरालाले गरेको २०१८ र २०३१ सालको सशस्त्र संघर्षको खुलेरै विरोध गरेका थिए ।

२०४६ सालको जनआन्दोलनमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । प्रजातन्त्रको पुनस्र्थापनापछि २०४७ वैशाख ६ गते बनेको अन्तरिम सरकारमा उनी मन्त्री बनेका थिए । ११ सदस्यीय अन्तरिम सरकारमा कांग्रेसको तर्फबाट निधिले जलस्रोत र स्थानीय विकास मन्त्रालय सम्हालेका थिए । २०५१ सालमा उनी नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री बने ।

कांग्रेसभित्र नेताले चुनाव नलड्ने सहमति भएअनुसार २०५१ सालको मध्यावधि निर्वाचनदेखि चुनावी राजनीतिबाट अलग्गिएका निधिले समाजसेवा गर्ने उद्देश्यले बृहत्तर जनकपुर क्षेत्र परिषद्को अध्यक्ष बनेर काम गरेका थिए । ७६ वर्षको उमेरमा २०५६ वैशाख २१ गते हृदयघातका कारण उनको निधन भएको थियो ।

–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top