ताजा समाचार


सिरहामा भएको सवारी दुर्घटनामा परि १३ जना घाइते, २ को अवस्था गम्भीर

द रियल समाचार     २०७७ फाल्गुन ११, मंगलवार, १०: ४६ मा प्रकाशित




जनकपुरधाम । सिरहामा भएको सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् ।

जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर–४ स्थित बस्तिपुरमा रोकीराखेको एक ट्रकमा बसले ठक्कर दिंदा १३ जना घाइते भएका हुन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिग्रिएर सडकमा रोकीराखेको ना ६ ख १११० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको यात्रुबाहक बसले सोमबार राति करिव पौने १२ बजे ठक्कर दिएको थियो ।

बसमा सवार ३५ जना मध्ये हाल नामथर वतन नखुलेका २ जना गम्भीर घाइते भएका छन् भने १ जना मध्यम र १० जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बाँकी २२ जनाको सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ । घाइतेहरुको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बस चालक हाल प्रहरीको निगरानीमा रहेको र ट्रक चालक फरार रहेकोले उनको खोजतलास भईरहेको सिरहा प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–४ बस्ने २५ वर्षीय मनिर आलम र सोही ठाउँका ३४ वर्षीय बिन्देव साह तथा ३८ वर्षीय मोजारिह मियाँ रहेका छन् भने कास्कीको लेखनाथ नगरपालिका वडा नम्बर–४ बस्ने २६ वर्षीय बेल बहादुर परियार, पोखरा उपमहानगरपालिका वडा नम्बर–१६ बस्ने ४३ वर्षीय मोहन बास्तोला, बाग्लुङ्ग नगरपालिका–११ बस्ने ३६ वर्षीय कुष्णबहादुर थापा, सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–५ बस्ने २२ वर्षीय ओसर आलम, स्याङजाको चिलाउने गाउँपालिका–४ बस्ने ५५ वर्षीय गणेश क्षेत्री, सोही ठाउँ बस्ने ३८ वर्षीय कृष्ण भुजेल, स्याङजाको पुतली नगरपालिका–१३ बस्ने २८ वर्षीय राजेश बिक, सुनसरीको कोशी गाउँपालिका–४ बस्ने २२ वर्षीय साबिर आलम, सोही ठाउँ बस्ने १५ वर्षीय अबदुला आलम र २५ वर्षीय मजदुर आलम, कोशी गाउँपालिका–५ बस्ने २५ वर्षीय अकबर अलि, झापाको हल्दीबरी गाउँपालिका–४ बस्ने ३८ वर्षीय पर्शुराम र चितवनको गितानगर नगरपालिका–५ बस्ने ४८ वर्षीय बस चालक प्रेमबहादुर खडका रहेका छन् ।

यसैगरी सिरहाको गोलबजार नगरपालिका–४ पुरानो बसपार्कमा गएराति मोटरसाइकल र कार आपसमा ठोक्किँदा २ जना घाइते भएका छन् । प्रदेश २–०१– ००१ प ६६५ र प्रदेश ३–०१–०२४ च २३१३ नम्बरको कार आपसमा ठोक्किदाँ दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएको र दुवैलाई उपचार गर्न भुमिजा अस्पताल पठाइएको सिरहा प्रहरीले जनाएको छ ।
दुबै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top