ताजा समाचार


प्राप्त उपलब्धिलाई बचाउन संविधान संरक्षण गर्नुपर्ने आवश्यकता : अध्यक्ष यादव

द रियल समाचार     २०७७ फाल्गुन १०, सोमबार, १५: ३७ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संघियतालाई समाप्त गर्ने प्रपञ्च रचेको आरोप लगाएका छन् ।

सोमबार जनकपुरधाममा जमीय ओलमाय नेपालले आयोजना गरेको ‘मुस्लिम समुदायको समस्या र समाधानका उपाय’ बिषयक एक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता यादवले भने,‘संघियता मात्र एक यस्तो प्रणाली छ जहाँ पावर अफ शेयरिङ्ग हुन्छ । जनताले शक्ति, साझेदारी र हिस्सेदारी संघियतामार्फत मात्र पाउन सक्छन् । संघिय प्रणाली कुनै पृथकतावाद छैन् । यो प्रणाली तोड्ने नभई जोड्ने प्रणाली हो ।’

नेता यादवले संघिय प्रणालीमा मात्र अधिक व्यक्तिलाई अधिक अवसर प्राप्त हुने बताउँदै प्रधानमन्त्री ओलीले त्यसलाई समाप्त गर्ने जालझेल गरेको आरोप लगाएका छन् । संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेपनि ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटनातर्फ धकेलेको उनको आरोप थियो ।

उनले भने,‘राजनीतिक अस्थिरता उत्पन्न गर्न संसद विघटन गरिएको हो । यो संघियता, समावेशिता र धर्मनिरपेक्षतालाई समाप्त गर्ने चाल हो । हामी यो संविधानसँग असन्तुष्ट रहेपनि अहिले हामी नै फेरि यसलाई बचाउनतर्फ लागेका छौं,उनले भने,‘बडो विचित्र अवस्था छ । यसै संविधानमा यस्ता पनि पक्ष छन् जहाँ गणतन्त्र, संघियता र सार्वभौमसत्ता जनतामाथि निहित रहेको लेखिएको छ । तर, जनताका लागि जून आवश्यक छ अहिले त्यसलाई पनि समाप्त पार्ने खेल भईरहेको छ ।’

उनले भने ‘प्रधानमन्त्री ओली यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्दा भन्दा थाक्दैन थिए आज उनी सो संविधान नै समाप्त पार्न उद्वत छन्, हाम्रो संविधानमा असहमित थियो तर सो संविधानबाट प्राप्त उपलब्धि रक्षाका लागि संविधानको रक्षाका लागि आन्दोलन गर्न परिरहेको छ ।’ जनताले जे प्राप्त गरेका छन् त्यसलाई बचाउनका लागि हामीले संविधानको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष यादवले भने संविधान संरक्षणका लागि आवाज नउठाए जनताले जे पाएका छन् त्यो पनि समाप्त हुन्छ र बाँकी पाउनका लागि पनि फेरि लामो लडाई लड्नुपर्दछ ।

उनले भने ‘संघिय प्रणाली जसमा पृथकतावादीको स्थान हुँदैन, जसमा अधिक व्यक्तिलाई अवसर दिइन्छ त्यस्तो प्रणाली समाप्त पार्ने ध्येय प्रधानमन्त्रीको छ । ओलीले प्रतिनिधिसभा विघटन गरिसकेका छन्, अब निर्वाचन नगराएर देशमा राजनीतिक अस्थिरता बढाउने र निरंकुश प्रणाली जारी राख्ने उनको योजना छ ।’

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लीम समुदाय पछाडि परेको एउटा कारण मध्ये शिक्षा समेत रहेको बताए । उनले सो समुदायलाई आ–आफ्नो सन्तानहरुलाई मर्दशा शिक्षाका साथै आधुनिक शिक्षामा जोड दिन आग्रह गरे । उनले शिक्षित नभए उनीहरुलाई रोजगारीमा समेत समस्या आउने बताए ।

कार्यक्रममा अध्यक्ष यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तकको उर्दु संस्करण समेत विमोचन गरिएको थियो । नेता यादवले लेखेको सो पुस्तकको उर्दु अनुवाद मौलाना खालिद रसिदले गरेका छन् ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top