ताजा समाचार


विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

द रियल समाचार     २०७७ माघ २७, मंगलवार, ११: ५२ मा प्रकाशित




काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघिका निर्देशक कुलमान घिसिङको ठाउँमा कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

यसअघि ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरणमा हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए । तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए । त्यसपछि शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो ।

शाक्यले प्राधिकरण आउनुअघि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङको नेतृत्व गरेका थिए । शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत तयारी चरणको परियोजनामा पनि खटिएका थिए ।

प्राधिकरणबाट घिसिङ बाहिरिएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top