काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबार राजधानीमा जनप्रदर्शन गर्न लागेको छ ।
सो समूहले बुधबार उपत्यकाका ५ ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको हो । संघर्ष समितिले पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट निर्धारण गरेको छ ।
पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल लगायतकाले गर्ने भएका छन् । सो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा पुगेर मुल जुलुसमा मिसिनेछ । त्यस्तै, त्रिपुरेश्वरबाट निस्कने जुलुको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले गर्नेछन् भने सो जुसल सुन्धरा पुगेर मुल जुलसमा मिसिनेछ ।
माइतीघर मण्डलाबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव, हरिबोल गजुरेलले नेतृत्व गर्नेछन् । सो जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा पुग्नेछ । उता, केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले नेतृत्व गर्नेछन् । सो जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ ।
जमलबाट निस्कने जुलुसको नेतृत्व भने लिलामणि पोखरेल लगायतले गर्नेछन् । सो जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्धशालीक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । यसपछि सुन्धाराबाट निस्कने मूल जुलुसले सुन्धरा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक पद्योदय मोड हुँदै प्रदर्शनमार्गमा सभा हुने भएको छ ।
दाहाल–नेपाल समूहले बुधबार हुने जनप्रदर्शन निर्णायक हुने दाबी गरेको छ ।
प्रतिक्रिया