काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ ।
बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई आफै लिखित जवाफ पेश गर्न आदेश दिएको हो । काठमाण्डौमा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठह¥याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको सो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । अधिवक्ता हायुले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका थिए । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकले रिटमा जिकिर गरेका थिए ।
सर्वोच्च अदालतमा हाल प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ ।
प्रतिक्रिया