ताजा समाचार


माघ १५ देखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्‍चालन हुने

द रियल समाचार     २०७७ माघ ८, बिहीबार, २३: ०२ मा प्रकाशित




जनकपुरधाम । निर्वाचन आयोगले माघ १५ देखि २१ गतेसम्म देशभरका सम्पूर्ण स्थानीय तहका केन्द्रहरुमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्‍चालन गरिरहेको छ ।

उक्त कार्यक्रम अनुसार माघ १५ गते नगरपालिका तथा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली समेत प्रकाशन गरिने आयोगले जानकारी दिएको छ ।

आयोगले माघ १६ देखि १८ गतेसम्म मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सकिने उल्लेख गरेको छ।

कसैले झुट्ठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ मा उजुरी दिन सकिने बताइएको छ ।

उपरोक्त अनुसारको निर्धारित मितिमा सम्बन्धित स्थानीय तहको केन्द्रमा गर्इ मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा कुनै त्रुटि भए त्रुटि सच्याउन एवम् आफ्नो नाम दोहोरो परेको भए त्यसलाई हटाउनका लागि निवेदन दिन जिल्ला निर्वाचन कार्यालय धनुषाले अनुरोध गरेको छ ।

मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन समेत सम्बन्धित सबैलाई आयोगले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top