जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ अन्तर्गत बुधबार धार्मिक विधिपूर्वक खरना विधि गरिएको छ ।
चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व अन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि बुधबार राती धुमधामका साथ खरना विधि गरिएको छ । चैती छठ पर्व धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवास लगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहरु बिग्ही, रातो मरहा, जङ् गहा, अङ्कुसे नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाउने गरिएको छ । सत्य, अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मङ्गलबार व्रतालुहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ अर्थात् जीउ चोख्याउने काम गरेका छन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खरना विधि गरेका छन् । खरनाका दिन व्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राती छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राती अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।
प्रतिक्रिया