स्थानीय तहको निर्वाचन अन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु भएको छ । नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।
यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने पौडेलले बताए ।
७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी(विरोधका लागि निवेदन दिन सकिने र सोही आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ । आयोगले फागुन २६ गतेभित्र परेको उजुरीबारे अनुसन्धान तथा छानबिन गरी सम्बन्धित मतदातालाई प्रमाणसहित उपस्थित हुने सूचना प्रकाशन गर्नेछ ।
मतदाता नामावली नियमावलीमा दर्ता अधिकारीले छानबिनपछि त्यस्तो उजुरीमाथि कारबाहीस्वरूप मतदाता नामावलीबाट नाम हटाउनसक्ने अधिकार दिएको छ । ०७९ बैशाख ३० गते स्थानीय निर्वाचन हुँदै छ । ५ फागुनदेखि १५ फागुनसम्मको अवधिभित्र ८० दलले दल दर्ताको लागि निवेदन दिएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलका अनुसार हाल दल दर्ताका लागि परेका निवेदन उपर जाँचबुझ भइरहेको छ ।
प्रतिक्रिया