जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।
सरकारले आयोगको अध्यक्षमा रौतहटका रामसहाय राय यादव र सदस्यहरुमा जनकपुरधामका राजकिशोर साह तथा महोत्तरी गोनरपुराकी शोभा कुमारी महतोलाई चयन गरेको हो ।
नवनियुक्तहरुलाई मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
आयोगको कार्यालय जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रभित्र राखिएको छ । नवनियुक्त पदाधिकारीहरुले आजै कार्यालय पुगेर पदभार समेत ग्रहण गरेका छन् ।
प्रदेशको सार्वजनिक मामिलालाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र जनसहभागितामूलक बनाउँदै प्रदेशवाट प्राप्त हुने सेवा सुविधामा नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्न तथा कानूनको शासन, चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन र प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रुपमा रुपान्तरण गरी प्रदेशमा सुशासनको प्रत्याभूति दिन २०७७ भदौ ३ गते प्रदेश २ को प्रदेश सभाले यो ऐन बनाएको थियो ।
प्रतिक्रिया