जनकपुरधाम । नेकपा एमाले प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले आफ्नै गृहपालिकाका उपमेयरलाई अन्य पार्टीमा प्रवेश गर्नबाट रोक्न सकेनन् । नेता महासेठको गृहपालिका धनुषाको मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिता कुमारी साह माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)मा सनाखत गरेकी छन् । पार्टी विभाजन भएपछि महासेठको गृहजिल्लामै एमाले कमजोर बनेको छ ।
उपमेयर साह पूर्वमन्त्री जुली कुमारी महतोसँग अत्यन्त निकट भएर काम गर्दै आएकी थिईन् भने उपमेयर साहका पति चन्द्रकिशोर साह पनि पूर्वमन्त्री जूलीको आफ्नै घरका व्यक्ति (किचेन क्याविनेट)जस्तै थिए ।
नेता रघुवीर महासेठ र जूली महतोको गृहपालिकाका उपमेयरले नेकपा (एस)को पक्षमा सनाखत गरेपछि उनीहरुमाथि ठुलै प्रश्नचिन्ह् खडा भएको छ । महासेठको आफ्नै गृहपालिकाका एमाले कमजोर देखिनुले पार्टी विभाजनपछि उनी आफ्नै ठाउँमा पनि अल्पमतमा परेको पुष्टि हुन्छ ।
महासेठको गृहपालिका भए पनि त्यहाँ एमाले कमजोर देखिएको छ । उनको एकलौटी व्यवहार, नातावाद प्रवृत्तिजस्ता कारणले उनीनिकट धेरैले उनलाई साथ छाड्न थालेको बताईन्छ ।
उपमेयर साहसँगै वडा नम्बर–२ का वडाध्यक्ष बिहारी महतो, कार्यपालिका सदस्य गुलाब ठाकुरसहित मिथिला बिहारी नगरपालिकाका विभिन्न वडाका थप ९ जना सदस्यहरू नेकपा (एस)मा रहने गरि मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेका छन् ।
प्रतिक्रिया