ताजा समाचार


नेपाल बैक मंलगवाका कर्मचारी सन्तोष बिक्रम शाहसहित ३ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर

द रियल समाचार     २०७८ भाद्र २२, मंगलवार, १५: ३२ मा प्रकाशित




सर्लाही । सर्लाहीस्थित नेपाल बैंक लिमिटेड मंलगवा शाखाको सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहसमेत ३ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरिएको छ ।

लालबन्दी नगरपालिकाको भवन बनाउन ठेक्का दिँदा नक्कली अग्रिम भुक्तानी जमानत बनाई ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेकोले उनीहरुमाथि आरोप–पत्र दायर गरिएको हो ।

हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकाले सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

नेपाल बैंक लिमिटेड मंलगवा शाखाको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहले लालबन्दी नगरपालिकाको भवन निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्ता र शिबनन्दन पासवानसगँको मिलोमतोमा नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरी नगरपालिकाबाट ४२ लाख रुपैयाँ भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

शाहले उक्त रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि भएकोले उनको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले उनलाई बिगो ४२ लाख कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन मागदाबी लिइएको प्रवक्ता रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top