जनकपुरधाम । मधेश आन्दोलनका सहीदहरुको नाममा जनकपुरधाममा निर्माण भईरहेको सहीद गेटमा नगरप्रमुख लालकिशोर साहले अनियमितता गरेको पाइएको छ ।
महालेखा परिक्षकको प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरिरहेको सहीद गेटको टेण्डर प्रक्रियामै अनियमितता गरेको पाइएको हो ।
सहीद गेट निर्माणका लागि २०७६ साल माघ १० गते पहिलो पटक ३० दिने सूचना सहित टेण्डर आह्वान गरिएको थियो । जसमा रविन्द्र कन्स्ट्रक्सन प्रा.लि.को प्रस्ताव मात्रै परेको थियो । यद्यपि अनुभव सम्बन्धि कागजात नक्कली सावित भएपछि ठेक्का अस्वीकृत गरिएको थियो । त्यसपछि २०७६ फागुन १८ गते १५ दिने सूचना फेरी आह्वान गरियो जसमा गौरी पार्वती साप जे. भि.को प्रस्ताव परेको थियो । ४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरिएकोमा १.०५ प्रतिशत घटीमा मात्रै अर्थात ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएकोले बिना प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराइएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
२०७७ साल असार २० गते शिलान्यास गरिएको सो सहीद गेट निर्माणमा आर्थिक वर्ष २०७६/०७७ मा ४४ लाख ७७ हजार ७ सय २ र आर्थिक वर्ष २०७७/०७८ मा २ करोड रुपैयाँ बजेट छुट्याइएकोमा गत जेठ महिनासम्मा १ करोड ३२ लाख ३२ हजार ४ सय २ रुपैयाँ खर्च भइसकेको छ ।
जनकपुरधाम प्रवेश गर्ने मुख्यद्वारमै धनुष आकारमा निर्माण हुन लागेको सहीद गेटमा भगवान सीतारामको प्रतिमाका साथै मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहीदहरुको प्रतिमा स्थापना गरिने लक्ष्य अनुरुप काम भईरहेको छ ।
प्रतिक्रिया