ताजा समाचार


विद्युत महसुल नतिर्दा महोत्तरीका अधिकांश रेडियो स्टेशनहरुको लाइन काटियो

द रियल समाचार     २०७८ भाद्र २१, सोमबार, १८: ३३ मा प्रकाशित




महोत्तरी । विद्युत महसुल नतिरेपछि महोत्तरीका अधिकांश रेडियो स्टेशनहरुको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत महसुलको बाँकी बक्यौता रकम नतिरेपछि जिल्लाका रेडियोहरुको लाइन काटिएको हो ।

सोमबार गौशालाका ३ र बर्दिवासका ३ गरी ६ वटा रेडियोको लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख विक्रम साहले जानकारी दिए ।

उनले यसअघि बक्यौता रकम तिर्न सातदिने अल्टिमेटमसहित सम्बन्धित संस्थालाई पत्र काटिएपनि समयमा रकम नतिर्दा लाइन काटिएको हो । रेडियोहरुमा अधिकतम ५ लाखसम्म विद्युत महसल बाँकी रहेकोले लाइन काटिएको उनले बताए । सञ्चारमाध्यमको हकमा एकलाख भन्दा बढी बक्यौता रहेकाहरुको लाइन काटिएको प्रमुख साहले जानकारी दिए ।

यस सम्बन्धमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महोत्तरी अध्यक्ष राजकुमार श्रेष्ठले कोरोना कहरले थला परेको सञ्चार क्षेत्रलाई यस्ता कार्यले हतोत्साहित पार्ने काम गरेको बताएका छन् ।

उनले भने,‘कोरोना कहरमा समग्र सञ्चार क्षेत्र थला परेका छन् । विद्युतको पैसा त हामीले तिर्नैपर्छ । तर यसरी हतारिएर लाइन काट्न हुँदैनथ्यो, हामी छलफल गर्दैछौं । संस्थागत निर्णय गरेर अघि बढ्छौं ।’

हाल महोत्तरी जिल्लामा १० वटा रेडियो स्टेशनहरु सञ्चालनमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top