ताजा समाचार


प्रदेश २: कोरोना संक्रमितको संख्या न्यून, स्वाब संकलन करिव शून्य

द रियल समाचार     २०७८ भाद्र २१, सोमबार, १६: ५० मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ मा स्वाब संकलनमा कमी आएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या समेत न्यून हुन थालेको छ ।

कुनै समय कोरोनाको हटस्पट बनेको प्रदेश २ मा अहिले सक्रिय संक्रमितको संख्या घटेर सयमा पुगेको हो । स्वास्थ्य निर्देशनालयका अनुसार भदौ २० गतेसम्ममा यस प्रदेशको ८ वटै जिल्लामा सयजना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९१ जना होम आइसोलेशनमा र ९ जना सामान्य उपचारमा रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार बारामा सबैभन्दा कम कोरोनाको सक्रिय संक्रमित रहेका छन् । बारामा १ जना मात्र सक्रिय संक्रमित छन् । त्यस्तै सप्तरीमा २, महोत्तरी र सर्लाहीमा ११÷११, पर्सामा १२, रौतहटमा १३, सिरहामा १७ र धनुषामा ३३ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

स्वाब संकलन न्यून

कोरोना संक्रमणको तेस्रो लहर आउने विज्ञहरुले चेतावनी दिइरहेको समयमा प्रदेश २ मा स्वाब संकलन घटेको छ । भदौ १ गते देखि २० गतेसम्ममा २ हजार २ सय ६२ जनाको स्वाब संकलन गरिएको छ जसमा १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार यस २० दिनको अवधिमा सप्तरीमा कसैको स्वाब संकलन गरिएको छैन् । त्यस्तै महोत्तरीमा ६८, सर्लाहीमा १ सय २१, बारामा १ सय २९, रौतहटमा १ सय ६९, सिरहामा २ सय २, पर्सामा ७ सय ६०, धनुषामा ८ सय ७ र अन्य प्रदेशका ६ जनाको मात्र स्वाब संकलन भएको हो ।

निर्देशक झाले अहिले स्वाब संकलन गराउनेहरु नै कम आउने गरेकोले समेत स्वाब संकलनमा कमी आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top