ताजा समाचार


उत्तरी इराकमा आइएस समूहद्वारा प्रहरी चौकीमा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

द रियल समाचार     २०७८ भाद्र २०, आईतवार, १८: ३६ मा प्रकाशित




एजेन्सी । उत्तरी इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले प्रहरी चौकीमा आक्रमण गरेको छ ।

उक्त घटनामा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले पुष्टि गरेको हो । उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।

प्रहरी मेजर अब्बास अल–ताइले सिन्ह्वालाई बताएअनुसार आईएस आतंकवादीले शनिबार रात बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–राशाद शहरको एउटा गाउँमा सङ्घीय प्रहरी चौकीमा आक्रमण गरेका छन् ।

अल–ताइ भने– “चौकीमा भएको आक्रमण पछि उनीहरूले गाउँतर्फ जाने सडक छेउमा शक्तिशाली विस्फोट गराएका र त्यही विष्फोटमा परी १३ प्रहरी मारिएका छन् भने अरू छ जना घाइते भएका छन् ।” आक्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मीलाई तैनाथ गरिएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए ।

सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आइएस समूहले आक्रमण तीव्र पारेको थियो । यस क्रममा दर्जनौँ सुरक्षाकर्मी सर्वसाधारण र आइएस लडाकू समेतको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आइएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महशुस गरिएको थियो । तथापि, सुरक्षा बल तथा नागरिक विरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर शहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आइएसले आफ्नो अस्तित्व देखाउने प्रयास गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top