जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरु विगत लामो समयदेखि आन्दोलन गर्दासमेत व्यवस्थापन पक्षले माग सम्बोधनका लागि कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।
करार नियुक्तिको माग गर्दै गत साउन २४ गतेदेखि २९ गतेसम्म पहिलो चरणमा शरीरमा कालोपट्टी बाँधेर काम गरेका शिक्षकहरु अहिले भदौ ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षकहरुको माग व्यवस्थापनले अझै पूरा गरेको छैन् ।
जनकपुरधामको भ्रमरपुराचोकस्थित विश्व विद्यालयको मूलगेटमै प्रत्येक दिन बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिँदै आएका शिक्षकहरुले आफुहरुको मागप्रति सम्बन्धित पक्ष उदासिन रहेको आरोप लगाउँदै अझ बढि कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
भदौ ८ गतेदेखि पठनपाठन ठप्प गरी ३५ जना शिक्षक विश्वविद्यालयको पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षक संघको ब्यानरमा धर्नामा बसेका हुन् ।स्थापनाकालमै आफुहरुलाई कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिएपनि हालसम्म माग सम्बोधन नगर्दा बाध्य भएर आफूहरु आन्दोलनमा उत्रेका विश्वविद्यालयको पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षक संघका सचिव रवि कुमार राजले बताए ।
दुई वर्षदेखि राजर्षि जनक विश्वविद्यालयसँग २६ जनाको दरबन्दी रहेको छ । तर पटक पटक त्यसमा करार गर्न आग्रह गर्दा सम्बन्धित पक्षले कुनै सुनुवाई गरेको छैन्,‘उनले भने । आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेको उनको दावी छ । क्याम्पसका पदाधिकारीहरुले समय समयमा आफूहरुलाई व्यवस्थापन गर्ने आश्वासन दिएपनि अझै पूरा हुन नसकेको उनले बताए ।
क्याम्पसका रजिष्ट्रार महेन्द्र प्रसाद यादवले आफूहरुलाई स्थायी नियुक्तीका लागि तयारी गर्न भनेपनि उनले अचानक गत बैशाख १३ गते विशेष टिप्पणीको आधारमा फेरि ५ जना कर्मचारीका लागि करार नियुक्तीको प्रक्रिया अगाढि बढाएपछि आफूहरुले आन्दोलन सुरु गरेको जानकारी दिए । अहिले क्याम्पसमा २६÷२७ जना कर्मचारीको दरबन्दी रहेपनि उनीहरुका लागि आईरहेको पैसा विभिन्न सञ्चालन खर्चको नाममा प्रयोग भईरहेको र शिक्षकलाई कोर्ष करारमा राखेर १० हजार रुपैयाँ मात्रै दिइरहेकोप्रति उनको दुःखेसो छ । उनीहरुले समयमै आफूहरुको माग सम्बोधन नभए विश्वविद्यालयमा तालाबन्दी गर्नेदेखि आमरण अनसनमा बस्नेसम्मको चेतावनी दिएका छन् ।
यता, शिक्षकहरु धर्नामा बसेदेखि रजिष्ट्रार महेन्द्र प्रसाद यादव र भाईस चान्सलर भरत झा विश्वविद्यालय आउन छाडेका छन् । उनीहरुको कार्यकक्ष अहिले खाली देखिन्छन् ।
प्रतिक्रिया