ताजा समाचार


अन्ततः प्रदेशसभा सदस्यद्वय विश्वकर्मा र गुरुङले रोजे एकीकृत समाजवादी

द रियल समाचार     २०७८ भाद्र २०, आईतवार, १३: ४१ मा प्रकाशित




जनकपुरधाम । नेकपा एमालेका थप २ जना प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीतर्फ सनाखत गरेका छन् । प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

यसअघि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गर्ने सूचीमा रहेका प्रदेशसभा सदस्यद्वय गुरुङ र विश्वकर्मा गत बिहीबार वीरगञ्जस्थित एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए ।

आइतबार सांसदद्वय विश्वकर्मा र गुरुङ नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गराएको एकीकृत समाजवादीका प्रदेश सांसद शत्रुधन महतोले जानकारी दिए । यसअघि बिहीबार नै एमालेका १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए ।

एमालेका पूर्व प्रमुख सचेतक समेत रहेका विश्वकर्माले आजदेखि औपचारिक रुपमै एकीकृत समाजवादीको कार्यकर्ता भएको बताए ।
एमालेका १२ जना सांसदले एकीकृत समाजवादी राजेपछि प्रदेश २ को प्रदेशसभामा केपी शर्मा ओलीभन्दा माधवकुमार नेपाल पक्ष बलियो देखिएको छ ।

प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेती उपचारका लागि भारतको दिल्लिमा रहेकाले उनको नेपाली दूतावास मार्फत एकीकृत समाजवादी दल रोज्नका लागि पत्राचार भइसकेको र आज बेलुकासम्म उनको पत्र आयोगमा प्राप्त भइसक्ने नेता महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top