ताजा समाचार


जसपालाई बाईपास गरेर कुनै शक्ति अगाडि बढ्न सक्दैन् : उपेन्द्र यादव

द रियल समाचार     २०७८ भाद्र १९, शनिबार, २३: ०९ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अबको देशको राजनीतिक दिशानिर्देश जसपाले गर्ने दावी गरेका छन् ।

जसपा नेपालको जनकपुरधाममा बसेको प्रदेश २ संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष यादवले नेपाली राजनीतिमा जसपा नेपाललाई बाइपास गरेर अब कुनैपनि शक्ति अगाडि बढ्न नसक्ने ठोकुवा गरे ।

‘हामी अब त्यो अवस्थामा पुगिसकेका छौं कि हरेक ठाउँमा जसपासँग साझेदारी गरेर मात्र कुनैपनि राजनीतिक शक्ति अगाडि बढ्न सक्छ,’उनले भने ।

उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राजनीतिक शक्ति कदापी बन्न नसक्ने समेत जिकिर गरे । लोसपाले मधेशमा लोभ, लालच र भ्रमको खेती गरिरहेको उनको आरोप थियो ।

उनले भने,’जुन दिन महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका केहि नेताहरु केपी ओलीको पछाडि लागे त्यस दिन नै उनीहरूको पतन भईसक्यो ।’

पूर्वराजपाका ८० प्रतिशत भन्दा बढि नेता कार्यकर्ताहरु जसपामै रहेको अध्यक्ष यादवले दावी गरे ।

लोकतान्त्रिक समाजवादी पार्टीतर्फ आफ्ना केहि प्रदेशसभा सदस्यहरूले सनाखत गर्न थालेपछि सांसदहरूको परीक्षण गर्न जसपाले संसदीय दलको बैठक बोलाएको थियो ।

बैठकमा संगठन सुदृढिकरण एवं जनजागरण अभियानलगायत प्रदेश सरकारको गतिविधिबारे समेत छलफल गरिएको थियो ।

जसपाको प्रदेश २ संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा अधिकांश प्रदेश सांसदहरूले प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारलाई आफ्नो गतिविधि सुधार्न र कमिकमजोरीहरुलाई आत्मसात गर्न आग्रह गरेका थिए ।

बैठकमा जसपाका केन्द्रिय कार्यकारिणी समिति सदस्यहरु महेन्द्र राय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, रेणु यादवलगायत पार्टीका कार्यकारिणी सदस्य तथा प्रदेश सांसदहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top