जनकपुरधाम । प्रदेश सरकारसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न ढिलाई गरिएको भन्दै चुरे अभियानीहरुले फेरि अनसनमा बस्ने चेतावनी दिएका छन् ।
अनसनकारीका तर्फबाट राखिएको ५ बुँदे माग सम्बन्धमा छानबिन गर्न प्रदेश सरकारले सहमति भएको मितिबाट ७ दिन भित्र प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपसचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । तर, निर्णय कार्यान्वयन गर्न प्रदेश सरकारले ढिलाई गरेकोले आफूहरु फेरि अनसनमा बस्ने चुरे तथा वनजंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादवले चेतावनी दिएका छन् ।
चुरे संरक्षण सहितको ५ बुँदे माग राख्दै जनकपुरधामको जनक चोकमा ९ दिनसम्म गरेको आमरण अनसन पश्चात प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले ७ बुँदे लिखित सहमति गरेपछि अनसन तोडिएको थियो ।
मन्त्री यादवले आमरण अनसनमा बसेका चुरे तथा वनजंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादव तथा केन्द्रिय सह–संयोजक रानी राय भूमिहारलाई जुस खुवाएर अनसन तोड्न लगाएका थिए ।
सहमति पत्रमा मन्त्री यादव तथा अनसनकारीहरूको तर्फबाट चुरे तथा वनजंगल संरक्षण अभियानका सल्लाहकार सरोज रायले हस्ताक्षर समेत गरेका थिए ।
चुरे अभियानीहरु साउन २८ गतेदेखि भदौ ४ गतेसम्म सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै जनकपुरधामको जनकचोकमा आमरण अनसनमा बसेका थिए ।
प्रतिक्रिया