ताजा समाचार


प्रदेश २ः एकीकृत समाजवादीतर्फ ११ जना सांसदले गरे सनाखत

द रियल समाचार     २०७८ भाद्र १७, बिहीबार, १४: ४१ मा प्रकाशित




जनकपुरधाम । नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीतर्फ लागेका प्रदेशसभा सदस्यहरुले आज निर्वाचन कार्यालय पुगेर सनाखत गरेका छन् ।

तत्कालिन एमालेका ११ जना सांसदले आज नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये एकीकृत समाजवादीतर्फ १३ जना खुलेरै लागेका छन् ।

१३ मध्ये २ जना सांसद काठमाण्डौमा रहेकोले आज ११ जनाले सनाखत गरेको प्रदेशसभा सदस्य शत्रुधन महतोले जानकारी दिए । उनले बाँकी २ जना सांसदले अर्को दिन सनाखत गर्ने बताए ।

प्रदेश २ सभामा एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । एमाले विभाजित हुँदा प्रदेशसभामा नेकपा एकीकृत समाजवादी मजबुत स्थितिमा छ । २१ मध्ये माधव पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् । बाँकी ८ जना भने ओलीको पक्षमा छन् ।

आज सनाखत गर्नेहरुमा प्रदेशसभा सदस्य अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो र हसिमा खातनु रहेका छन् ।

प्रदेशसभा सदस्य सीता गुरुङ र सुन्दरबहादुर विश्वकर्माले सम्भव भएसम्म आजै नभए अर्को दिन सनाखत गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top