ताजा समाचार


नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुँदै

द रियल समाचार     २०७८ भाद्र १५, मंगलवार, १७: २४ मा प्रकाशित




जनकपुरधाम । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि प्रदेश २ सरकारमा सहभागी हुने तय गरेको छ । नेकपा एमालेसँग अलग भई निर्वाचन आयोगमा पार्टी दर्ता भईसकेकोले नेपाल पक्ष पनि सरकारमा सहभागी हुन लागेको हो ।

प्रदेश निर्वाचन आयोगको कार्यालयमा सनाखत कार्य सम्पन्न गरे लगत्तै सो पार्टी छिट्टै प्रदेश सरकारमा सहभागी हुने जनाएको छ । नेता शत्रुधन महतोले भने,‘हामी छिट्टै प्रदेश सरकारमा सहभागी हुदैछौँ । भोली वा पर्सिबाट सनाखत हुन्छ ।’

एमाले विभाजित हुँदा ७ मध्ये ६ वटा प्रदेशमा ओली पक्ष मजबुत स्थितिमा रहे पनि प्रदेश २ मा भने माधव पक्ष राम्रो स्थितिमा छ । अहिले नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीले गाउँ, वडा र पालिका स्तरमा धमाधम कमिटीहरु ब्यूँताउने कार्यमा अग्रसर भएको देखिन्छ ।

प्रदेश २ मा १०७ सदस्यीय प्रदेशसभामा अहिले १०४ जना छन् । नेकपा विभाजित भएपछि ३ जना प्रदेशसभा सदस्य एमालेतर्फ फर्किंदा माओवादी केन्द्रले उनीहरुलाई कारबाही गरेको थियो । प्रदेश २ सभामा एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । एमाले विभाजित हुँदा प्रदेशसभामा नेकपा एमाले (समाजवादी) मजबुत स्थितिमा छ । २१ मध्ये माधव पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् । बाँकी ८ जना भने ओलीको पक्षमा छन् ।

प्रदेश २ को प्रदेशसभा सदस्यमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु नेपाल समूहमा छन् भने सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारैन देवी सुडी, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद ओली समूहतर्फ छन् ।

केन्द्रीय सदस्यको मामिलामा दुवै समूह करिव ५०–५० को स्थितिमा छ । प्रदेश २ बाट केन्द्रीय सदस्यमा एमालेका ३२ जना छन् । ३२ मध्ये एमालेमा १६ र एकीकृत समाजवादीमा १५ जना खुलेका छन् । एमालेको प्रदेश कमिटीमा पनि एकीकृत समाजवादी नै हावी छ । १ सय सदस्यीय प्रदेश कमिटीमा ६० जना माधव पक्षमा छन् भने ४० जना ओली समूहमा छन् । त्यस्तै प्रदेश नम्बर २ को ८ वटै जिल्लाहरुमध्ये ६ वटा जिल्लामा नेपाल पक्षको अवस्था निकै मजबुत स्थितिमा रहेको समाजवादीको दावी छ । ५ वटा जिल्लामा नेपाल पक्ष जिल्ला कमिटीको नेतृत्व नै गरिरहेको छ । यसरी हेर्दा माधव कुमार नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीको अवस्था प्रदेश नम्बर २ मा बलियो रहेको देखिन्छ ।

माधवकुमार नेपालले एमालेबाट विद्रोह गरि नेकपा एकीकृत समाजवादी गठन गरेर आफ्नो गतिविधिहरुलाई तिव्रता दिएका छन् । उता, दल विभाजन पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ध्यान जनप्रतिनिधिहरुप्रति बढी केन्द्रित हुँदा प्रदेश २ मा अहिले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरु को कता जाने त्यसका लागि भदौ २२ गते सम्म कुर्नुपर्ने अवस्था देखिन्छ । एमालेका अधिकांश जनप्रतिनिधिहरु अझै खुल्न चाहेका छैनन् । यता, एकीकृत समाजवादीले भने प्रदेश नम्बर २ को ८ वटै जिल्लामा बहुमतीय जनप्रतिनिधि हाम्रो पक्षमा रहेको दावी गरेको छ ।

ओली समूहका प्रदेशसभा सदस्य शारदादेवी थापाले गणितीय हिसाबमा आफूहरु कमजोर देखिए पनि जनाधार भने आफूहरुकै मजबुत रहेको दाबी गरिन् । उनले भनिन्, ‘सूर्य चिन्हलाई माया गर्नेहरु पक्कै ओलीको साथमा उभिनेछन् । प्रदेश २ मा अहिले हाम्रो स्थिति कमजोर छ । तर, पदको लोभमा माधवसँग लागेकाहरु कति दिनसम्म टिक्लान् त्यो हेर्न बाँकी छ ।’

माधव पक्षका नेता श्रीप्रसाद साहले प्रदेश २ मा आफूहरुको स्थिति मजबुत रहेको दाबी गरे । आगामी निर्वाचनमा पार्टी विभाजनको प्रत्यक्ष असर परे पनि ओलीभन्दा आफ्नो पक्षको स्थिति मजबुत नै रहने उनको दाबी छ । उनले भने, ‘हामी आउने निर्वाचनमा ओलीको प्रतिगमनको विषयमा जनतालाई सम्झाउने छौँ, जनताले पक्कै हाम्रो विश्वास गर्नेछन् ।’

यता, नेकपा एमालेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले एमाले विभाजनले प्रदेश नम्बर २ को संसदीय दल अनुसार एमाले केहि कमजोर जस्तो देखिएपनि खासै असर नपर्ने बताएका छन् । उनले भने,‘प्रदेश २ बाट प्रतिनिधिसभामा निर्वाचित २ जना हामीसंगै छन् । प्रदेशसभामा एमालेमा ८ जना र माधव पक्षमा १३ जना रहेपनि अधिकांश समानुपातिकबाट प्रदेशसदस्य बनेकाहरु भएकाले पनि हामी नै बलियो अवस्थामा छौं ।’

एमाले कमजोर रहेको आरोप लगाएको जस्तो कुनै अवस्था नरहेको उनको दावी छ । उनले ८ वटै जिल्लामा बादल समुह आफ्नो पार्टीमा समायोजन भएपछि अवस्था राम्रो रहेको जिकिर समेग गरे ।

उता, महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य तथा जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालय धनुषा र प्रदेश निर्वाचन कार्यालयमा आजदेखि सनाखत गर्न थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top