जनकपुरधाम । जनकपुरधाममा मात्रै २ सय औषधि पसल, ५० वटा डाइग्नोस्टिक सेन्टर, एक सय निजी क्लिनीक र २५ वटा नर्सिङ्ग होमलगायतका स्वास्थ्य क्षेत्रका निजी संस्थाहरु सञ्चालनमा रहेका छन् । जसमध्ये ८० प्रतिशत प्रादेशिक अस्पताल रोडमै छन् । प्रदेश २ को धनुषा, महोत्तरी र सर्लाही जिल्लामा दैनिक करिव एक करोडको औषधि बिक्री हुन्छ । यस हिसाबले धनुषामा मात्रै करिव साढे ३३ लाखको हाराहारीमा दैनिक आम्दानी छ ।
तर, एकचोटी यो तस्बिर हेर्नुस् त ! के ति औषधि पसल र निजी क्लिनीकका सञ्चालकहरु मात्र पैसा कमाउनतर्फ ध्यान केन्द्रित गरेका हुन त ? उनीहरुको पसल तथा क्लिनीकबाट निस्किने मेडिकलजन्य फोहोरको व्यवस्थापन कसले गर्ने ? की यस्तै सडकमै जथाभावी फाल्ने ?
जनकपुरधाममा च्याउ झैँ सञ्चालन गरिएका औषधि पसलहरूले सरसफाइ अभियानलाई चुनौती दिँदै सहर कुरूप हुने गरी फोहोर मिल्काउँदा जताततै फोहोरले दुर्गन्ध फैलाउन थालेका छन् । जनकपुरधामस्थित प्रादेशिक अस्पताल रोडको बिच सडकमै औषधि पसल र क्लिनिकहरुबाट निस्किएका मेडिकलजन्य फोहोर र सिरिन्जहरु हप्तौंदेखि जथाभावी रुपमा फालिएका देखिन्छन् ।
यहाँका औषधि पसल, निजी क्लिनिक र अस्पतालहरुले प्रयोगमा ल्याईसकेका मेडिकलजन्य फोहोर जथाभावी रुपमा बिच सडकमै फाल्दै आएकोले सडक भएर हिंड्ने सयौं यात्रु तथा सवारीसाधनहरु पीडामा छन् । मेडिकलजन्य फोहोरले मानव स्वास्थ्यलाई गम्भीर खतराक पुर्याउँछ,‘ नेपाल पत्रकार महासंघ धनुषा शाखाका निवर्तमान अध्यक्ष अनिल मिश्रले भने,‘तर यसलाई व्यवस्थापन गर्नेतर्फ कसैको ध्यान छैन् ।’
प्रादेशिक अस्पताल क्षेत्रमा औषधि पसल, मेडिकल तथा क्लिनिक सञ्चालकहरुले सडकमै जथाभावी फोहोर फाल्दा शहरको सौन्दर्य बिग्रिनुका साथै त्यसले विभिन्न रोगहरुसमेत फैलिन सक्ने खतरा बढेको उनले बताए ।
उनले भने,‘प्रादेशिक अस्पतालको एरियामा सञ्चालनमा रहेका विभिन्न औषधि पसल, डाइग्नोस्टिक सेन्टर तथा क्लिनिकहरुले यसरी नै जथाभावी बिच सडकमा मेडिकल जन्य फोहोर फाल्दै आएका छन् । तरपनि स्थानीय निकायले तिनिहरुलाई केही भन्दैन् । यहाँका जनप्रतिनिधिहरु नामका लागि मात्रै छन्, सबै भ्रष्ट र पैसा खाने मात्रै हुन् ।’
मेडिकलबाट खेर गएका औषधि तथा मेडिकलजन्य फोहोरहरू आफूखुसी सडकमा छरपस्ट फालिदिँदा नगरको सौन्दर्य बिग्रिनुका साथै मानव स्वास्थ्यमा गम्भीर जोखिम बढेको छ । म्याद गुज्रिएका औषधि दादागिरी शैलीमा मेडिकलले सडकमै छरपस्ट फालिदिँदासमेत उपमहानगरपालिकाले कुनै चासो दिएको छैन ।कसले र किन यसरी सडकमा म्याद गुज्रिएका औषधिजन्य वस्तु फाल्यो, त्यो कसैको सरोकारको विषय नै बन्न सकेको छैन ।
औषधि बेचेर मोटो रकम असुल्ने यस्ता नाफाखोर मेडिकलका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । अझ मेडिकलबाट उत्सर्ग हुने जोखिमयुक्त फोहोर पनि सडकमै मनोमानी ढंगबाट फालिदिँदा सो स्थान भएर हिँड्ने मानव तथा पशुलाई समेत यसले असर पार्ने जोखिम बढेको छ । वातावरणमा दीर्घकालीन असर गर्ने मेडिकलजन्य फाहोर र प्लास्टिक खुला रूपमा सडकमै छरपस्ट फाल्नु र जलाउनुले जनकपुरधामलाई स्वच्छ बनाउन चुनौती थपिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा उदासीनता देखाएको नगरवासीको गुनासो छ । नगरमा फोहोर गर्नेलाई कारबाही गरी फोहोर व्यवस्थापनमा सक्रिय हुने उद्घोष गरेको उपमहानगरपालिका भने विगतदेखि नै उदासीन बनेको देखिएको छ ।
प्रतिक्रिया