ताजा समाचार


मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपालमा

द रियल समाचार     २०७८ भाद्र १४, सोमबार, १९: ४३ मा प्रकाशित




काठमाण्डौ । नेपालसँग दुई मैत्रीपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । भारतीय राष्ट्रिय टोली नेपाली फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाल आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरे ।

विमानस्थल ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको मैत्रीपूर्ण खेल साफ तयारीका लागि महत्वपूर्ण हुने बताए । दुई साता मात्र अभ्यास गरेर नेपाली टोलीसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको उनले बताए ।

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले गत शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको थियो । सोही टोली नेपाल आएको हो ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्रीलगायत सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा गरेका थिए । कठिन परिस्थितिमा पनि निमन्त्रणा स्वीकार गरेर नेपाल आएको टोलीले नेपाल बलियो प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिए ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दै छ । बन्द रंगशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीको रुपमा हेरेको छ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । सोही प्रतियोगिताका लागि नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा रहेको थियो र भारतसँगको दुई मैत्रीपूर्ण खेलपछि नेपाल थप अभ्यासका लागि कतार जाने तालिका रहेको छ ।

नेपालले छिमेकी देश भारतसँग सन् २०१८ को विश्वकप छनोटअन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top