काठमाण्डौ । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । कास्की, कैलाली, पर्सा र मोरङबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका– १५ चोरसाँघुबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही महानगरपालिका– ९ शिवटोलस्थित सुकुम्बासी बस्ती बस्ने लोक बहादुर श्रेष्ठ र उनकै श्रीमती विष्णु श्रेष्ठ गुरुङ रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले २८० एम्पुल नुर्फिन, २८० एम्पुल फेनरागन, २८० एम्पुल डाईजेपाम, नगद ३ लाख २९ हजार रुपैयाँ, सुनजस्तो देखिने पहेंलो रङको धातु १ केजी, १ थान पेस्तोलजस्तो देखिने लाइटर र ३ थान मोबाईल बरामद गरेको छ ।
यस्तै पोखरा महानगरपालिका–२३ पामे बस्ने २७ वर्षीय अर्जुन नेपालीलाई २ एम्पुल नुर्फिन, २ एम्पुल फेनरागन र २ एम्पुल डाइजेपामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका–२ रिङरोड बस्ने २० वर्षीय भुवन खड्कालाई करिब १ सय ग्राम चरेशसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पर्साको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट ५०० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका–८ बस्ने दिनेश कार्की र कास्की पोखरा महानगरपालिका–९ बस्ने अनिक गुरुङ रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । मोरङको उर्लाबारी नगरपालिका–१ झारासादी बस्ने २० बर्षीय उमेश धिमाललाई नियन्त्रित लागूऔषध ५ सय ७५ ट्याब्लेट ट्रामाडोल र ५७० ट्याब्लेट स्पासपेन सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा धिमालको कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया