ताजा समाचार


नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले रिले अनशन तोडे

द रियल समाचार     २०७८ भाद्र १२, शनिबार, १९: ५० मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडेका छन् । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै उनीहरु रिले अनशनमा बसेका थिए ।

सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशनमा बसेका जिल्ला सभापतिहरुलाई माग पूरा भइसकेको जानकारी गराएका थिए ।

नेता सिटौलाले सबै माग पूरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेपछि रिले अनशनमा बसेका जिल्ला सभापतिले अनशन तोडेका हुन् । मंगलबारदेखि पौडेल पक्षका जिल्ला सभापतिहरुले शुरु गरेको रिले अनशन अन्तर्गत शनिबार काठमाडौं, उदयपुर र संखुवासभाका जिल्ला सभापति रिले अनशनमा थिए ।

उनीहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राखेर अनशन शुरु गरेका थिए ।

जिल्ला सभापतिहरुको अनशन अन्त्यका लागि शनिबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेका थिए । छलफलले जिल्ला सभापतिहरुले राख्ने सबै माग पूरा गर्ने सहमति भएपछि नेताहरु सिटौला, रिजाल र लेखक पार्टी कार्यालय पुगेका थिए ।

–अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top