एजेन्सी । इङ्गलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्याचेस्टर सिटी विजयी भएको छ । उसले आर्सनलमाथि ५–० को सहज जित दर्ता गरेको हो ।
घरेलु मैदान इतिहाद स्टेडियममा म्यानचेस्टर सिटीलाई सहज जित दिलाउन फेरान टोरेसले २, इल्के गुन्डोगन, गाब्रियल जिसस र रोड्रीले समान १–१ गोल गरे । खेलको ७औँ मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । १२औँ मिनेटमा टोरेसले टोलीको अग्रता दोब्बर बनाए ।
३५औँ मिनेटमा ग्रानिट साकाले रातो कार्ड बेहोर्दा आर्सनल १० खेलाडीमा सीमित बन्यो । सिटीका जाओ कान्सेलोलाई फउल गरेपछि रेफ्रीले साकालाई सीधै रातो कार्ड देखाएका थिए ।
४३औँ मिनेटमा जिससले गोेल गर्दै सिटीलाई पहिलो हाफमा ३–०को आरामदायी अग्रता दिलाए । पहिलो हाफमा ३ गोल गरेको सिटीले दोस्रो हाफमा २ गोल थप्यो । ५३औँ मिनेटमा रोड्रीले टोलीका लागि चौथो गोल गरे ।
८४औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरेपछि सिटीले सहज जित हात पारेको हो । जितसँगै ३ खेलबाट ६ अंक जोडेको सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा लगातार तेस्रो हार बेहोरेको आर्सनल अंकविहीन हुँदै अन्तिम स्थानमा छ ।
प्रतिक्रिया