ताजा समाचार


विदेह नगरपालिकाका मेयर दासले आवासीय प्रयोजनका दर्जनौं सामान नगरपालिकाकै खर्चबाट किने

द रियल समाचार     २०७८ भाद्र ११, शुक्रबार, १८: २९ मा प्रकाशित




जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले आफ्नो घरमा प्रयोग गरिरहेका लाखौं मूल्यका सामानहरु राज्यकोषबाटै खरिद गरेको पाइएको छ । मेयर दासले आवासीय प्रयोजनका दर्जनौं सामानहरु नगरपालिकाकै खर्चबाट खरिद गरेका हुन् ।

राज्यले मेयर दासलाई आवास सुविधा उपलब्ध नगराएपनि उनले निजी प्रयोजनका सामानहरु आफ्नो घरका लागि राज्यकोषबाटै किन्न लगाएका छन् । उनले वासिङ मशिन, बक्स पलङ, लो बेड, एसी, फ्रिजलगायतका आवासीय प्रयोजनका सामानहरु नगरपालिकाकै पैसाबाट खरिद गरी १५ लाख २८ हजार रुपैयाँ खर्च गरेका छन् ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको ऐन,२०७७ को दफा ३(१) मा पदाधिकारी तथा सदस्यले अनुसूची बमोजिमको रकममा नबढ्ने र दोहोरो नपर्ने गरी सुविधा पाउने व्यवस्था रहेपनि उनले ति सबै नियम कानूनलाई मिच्दै आफूखुशी घरायसी प्रयोजनका सामानहरु नगरपालिकाकै खर्चबाट किन्न लगाएका छन् ।

मनोमानी रुपमा मोबाइल वितरण

त्यस्तै, हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले आर्थिक वर्ष २०७६/०७७ मा ९ लाख ९८ हजारमा ५० थान मोबाइल खरिद गरी जनप्रतिनिधिलाई वितरण गरेको पाइएको छ । उनले आर्थिक वर्ष २०७५/०७६ मा पनि ४ लाख ९८ हजार रुपैयाँमा ५७ थान मोबाइल खरिद गरी वितरण गरेका थिए ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार प्रत्येक वर्ष मोबाइल खरिद गरी जनप्रतिनिधिलाई वितरण गर्ने कार्य औचित्यपूर्ण नरहेको ठहर गरेको छ ।

अनुगमन भत्ताको नाममा लाखौं अनियमित खर्च

उता, प्रदेश २ कै महोत्तरी जिल्लास्थित पिपरा गाउँपालिकाले समेत अनुगमन भत्ताको नाममा पदाधिकारी तथा कर्मचारीललाई लाखौं रकम बाँडेको छ ।

गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले भत्ताको नाममा पदाधिकारी तथा कर्मचारीलाई वडा तथा गाउँपालिकास्तरीय योजनाको अनुगमन गरेवापत २८ लाख ९५ हजार रुपैयाँ भत्ता भुक्तानी गरेका छन् ।

नगरपालिकाबाट साडी तथा कुर्ता वितरण

त्यस्तै, रौतहटको इशनाथ नगरपालिकाले महिलाहरुका लागि साडी तथा कुर्ता वितरणमा १० लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ भने रौतहटकै फतुवा विजयपुर नगरपालिकाले साडी तथा ग्यास वितरणमा ८८ लाख ८६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top