काठमाण्डौ । भारत सरकारले नेपालका बाढी पीडित जनताका लागि ८ करोड बराबरको राहत सामग्री सहयोग गरेको छ ।
काठमाडौंस्थित भारतीय दूतावासकी उपप्रमुख नामग्या खम्पाले शुक्रबार एक समारोहकाबीच ती सामग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् ।
नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेका छन् ।
बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत सो राहत सामग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने दूतावासले जनाएको छ ।
भारत सरकारले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया