ताजा समाचार


निधिको सम्पर्क कार्यालय उद्घाटनमा प्रख्यात मन्दिरका पूजारीहरुको उपस्थिती

द रियल समाचार     २०७८ भाद्र ११, शुक्रबार, १६: २३ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काठमाण्डौमा सम्पर्क कार्यालय खोलेका छन् ।

पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका निधिले बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै आज विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

निधिले नियमित भेटघाट र महाधिवेशनसँग सम्बन्धित गतिविधि गर्नका लागि बानेश्वर ब्यांकेटमा सम्पर्क कार्यालय खोलेको उनका स्वकीय सचिव विश्वास बिक्रमले जानकारी दिए ।

देशका विभिन्न प्रख्यात मन्दिरका पुजारीहरुको उपस्थितिमा निधिले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । शुक्रवार बिहान ९ बजेको साइतमा निधिले कार्यालय उद्घाटन गरेका छन् ।

‘सभापतिको उम्मेदवारी दिनका लागि सनातन धर्मअनुसार पूजापाठ गरेर बिहान ९ बजेको समयमा पण्डित नरेन्द्र दाहालबाट पूजापाठ गराएर कार्यालय उद्घाटन गरिएको छ,’ सम्पर्क कार्यालय उद्घाटन गरेपछि निधिले भने, ‘उद्घाटन कार्यक्रममा जानकी मन्दिरको महन्थ तपेश्वर दास आउनु भएको थियो । शुभारम्भ कार्यक्रममा आएर आशीर्वाद दिएर जानुभएको छ ।’

दक्षिणकाली मन्दिरको पुजारी, सूर्य विनायक, गृह्यश्वरीको पूजारी र पशुपतिनाथको भट्टको तर्फबाट भण्डारी आएर आर्शिवचन दिएर गएको निधिले जानकारी गराए । पञ्चायक निर्णायक समितिका कृष्ण अधिकारी, ज्योतिषी डा. सन्तोष वशिष्ठजीलगायत धार्मिक आध्यात्मिक व्यक्ति आएर पूजामा सहभागी भएको उनले बताए ।

यसैगरी बौद्ध धर्मका लामाले २१ ताराको पूजा गरेर आफूलाई समर्थन गरेको उनले बताए । मुस्लिम धर्मको मौलाना पनि आएको बताए । उपसभापति निधिले सभापतिका लागि लामो समयदेखि तयारी अगाडि बढाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top