ताजा समाचार


महन्थ ठाकुर ओलीको मतियार बने: मुख्यमन्त्री राउत

द रियल समाचार     २०७८ भाद्र ११, शुक्रबार, १६: ०८ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेशी नेताहरुमध्येबाट देशको पहिलो प्रधानमन्त्री बन्ने अवसर महन्थ ठाकुरका कारणले गुमाएको आरोप लगाएका छन् । महन्थ ठाकुर स्वार्थमा परेर तल्लो स्तरको हर्कत गर्नसक्ने कुरा कसैले कल्पना समेत नगरेको उनले बताए ।

शुक्रवार जनकपुरधाममा जनता समाजवादी पार्टी नेपालको अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘हाम्रो आदरणीय नेता थिए महन्थ ठाकुरजी तर आज उनी माथी सबै हाँसी रहेका छन् । उहाँ यति तलसम्म जान सक्नुहुन्छ कसैले कल्पना समेत गरेका थिएनन् ।’

‘हाम्रो आदरणीय नेता रहिसकेका महन्थ ठाकुरले हस्ताक्षर किर्ते गरे । हाम्रा अध्यक्षमाथि नै कारवाही गरेकाले आज सबैजना उनीमाथी हाँसीरहेका छन् । यो त हाम्रो अध्यक्षजीको कृपा छ, जसका कारण उनी बाँचेका छन् । निर्वाचन आयोगले ठाकुरले हस्ताक्षर किर्ते गरेको भनिसकेको छ । आज हामी सर्वोच्चमा मुद्दा दियौँ भने उहाँलाई सजाय पनि हुन सक्छ’,राउतले भने ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संघीयता र मधेश विरोधी रहेपनि महन्थ ठाकुर र राजेन्द्र महतोहरु उनको मतियार बनेको राउतले आरोप लगाए । मुख्यमन्त्री राउतले भने, ‘शुरुमा केपी ओलीको कदम अलोकतान्त्रीक, असंवैधानिक रहेको भन्नेले केही दिन पश्चात नै ओलीसँग वार्ता टोली बनाएर वार्ता गर्न थाले । केपी ओली संघीयता, मधेशी सुन्ने बितिकै भाग्छन् के उनी हाम्रो माग पुरा गर्न सक्छन ?’

मधेशवादी दलबाट प्रधानमन्त्रीको लागि शेरबहादुर देउवा, माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड सबैको सहमती भएपनि महन्थ ठाकुरको कारण पहिलो मधेशी प्रधानमन्त्री बन्ने ठुलो अवसर चुकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top