काठमाण्डौ । संसदीय समितिले कक्षा १२ को परीक्षार्थीलाई तुरुन्त खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
कक्षा १२ को परीक्षार्थीका लागि कोभिड–१९ विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परीक्षाको लागि वातावरण बनाउन समिति सभापति जयपुरी घर्तीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएकी हुन् ।
उनले भनिन्, ‘शिक्षा मन्त्रालयलाई तुरुन्तै व्यवस्था गरेर अगाडि बढ्न हामीले भनिसक्यौँ, स्वास्थ्य मन्त्रालयले गर्ने कामचाहिँ खोपको व्यवस्थापन कति दिनभित्र गर्न सक्नुहुन्छ त्यो व्यवस्था गरेर तुरुन्तै परीक्षाको लागि वातावरण बनाइदिनुपर्यो । खोप स्वास्थ्य कार्यालयले छिटो गरोस् भन्ने म निर्देशन दिन चाहन्छु ।’
बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेको भन्दै सोही खोप कक्षा १२ का परीक्षार्थीलाई उपलब्ध गराउन सुुरु गरिसकेको बताए । देशभरका गाउँ तथा सहरका कक्षा १२ का परीक्षार्थीले खोप लगाउन पाउने उनको भनाइ छ ।
प्रतिक्रिया