ताजा समाचार


वर्तमान सडकमै आश्रित, भविष्यको चिन्ताले पिरोल्दै !

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १६: १७ मा प्रकाशित




जनकपुरधाम । तलको तस्बिर एकचोटी हेर्नुस् त !


आमाबाबुको काँखमा हाँसीखुसी खेल्ने र किताबकाँपी लिएर विद्यालय जाने उमेरका यी बालकहरु किन सडकमा फोहोर टिप्न बाध्य छन् होला ? उनीहरु ठेलामा प्लाष्टिक हालेको फोहोरका बोराहरु थुर्पान किन बाध्य छन् होला ? उनीहरुको शरीरमा ठाउँ–ठाउँमा च्यातिएका थोत्रा लुगाहरु किन छन् होला ? यावत प्रश्नहरुको जवाफ खोज्न यिनीहरुलाई पछ्याउँदै जाँदा घरको आर्थिक अवस्था कमजोर भएका कारण कलिलै उमेरमा ठेला चलाएर प्लाष्टिक संकलन गर्न बाध्य रहेको कुरा साम्मुने आयो ।

उनीहरु हुन् जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका बालक राम भजन मुखिया, राम जिवन मुखिया, भुल्ला मुखिया र दिनेश साह । सबैजना करिव ७ देखि ८ बर्षसम्म उमेर समूहका छन् । विगत तिन वर्षदेखि जनकपुरधाममा बस्दै आएका उनीहरुले अहिलेसम्म विद्यालयको मुख समेत हेर्न पाएका छन् । कहाँ छन् बालबालिकाको नाममा दर्जनौंको संख्यामा खोलिएका ति एनजिओ र आइएनजिओहरु ? के उनीहरु डलर भजाउन मात्र माहिर छन् त ?

आफुहरुलाई हेर्नेवाला कोही पनि नरहेको उनीहरुको दुःखेसो छ । उनीहरुको कहानी दुःखद छ । रातमा मात्र घरमा हुन्छन । सूर्य उदाउनुअघि नै उनीहरु बजार पुगिसकेका हुन्छन । मानिसहरु सुतेकै हुँदा उनीहरु प्लाष्टिक संकलन गर्न सुरु गरिसकेका हुन्छन । फोहोर फाल्ने ठाउँमा जानु हुँदैन । विभिन्न खालका रोग लाग्छन् भन्ने कुरा उनीहरुलाई थाहा छ । तर यो काम गर्न आफूहरुलाई बाध्यता रहेको उनीहरुले बताए । राम जिवन भन्छन, ’फोहोर फाल्ने ठाउँमा नगए प्लाष्टिक नै संकलन गर्न सक्दिन । अनी कसरी पैसा कमाइ हुन्छ ? फोहोर ठाउँमा जाने त बाध्यता छ ।’

यस्तो कलिलै उमेरमा जनकपुरधाम आएका यि बालकहरु कवाडीमै आफ्नो रात बिताउँछन । दिनभर नगरको कुना काप्चामा फोहोर टिप्छन् । परिवारको गुजारा चलाउन दिनभरी प्लाष्टिक संकलन गरेर साँझमा कवाडीमा पुगेर विक्री गर्छन यिनीहरु । विभिन्न कारणले घर, परिवार छाडी पुस माघको जाडो होस् वा चैत्र वैशाखको गर्मी नै किन नहोस्, दिनरात सडकमा नै बिताउने, त्यही खाने, त्यही घुम्ने, त्यही सुत्ने यिनीहरु सडकमा आश्रित बालकहरु छन् ।

बालक राम भजनले भने,‘दिनभरको हिडाइले साँझमा एकदमै थाक्छु । कवाडीमा समान बेचेपछि रातमा हामी सबैजना त्यही सुतिहाल्छौं । आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मेका कारण एक कक्षासम्म पनि पढेका छैनौं हामी । खानलाई नै पुग्दैन भने विद्यालय कसरी जानु ?’

‘गरिवको कोखवाट जन्मनुपनी अभिशाप रैछ’ उनी भन्छन, ‘अहिले त जसोतसो गुजारा चलिरहेको छ, तर भविष्यको चिन्ताले मलाई पोल्छ ।’ आफू सडक बालक भएकोमा उनलाई धेरै पिडा छ । उनीहरुसँग न त बस्ने घर छ न त खाने अन्न नै । उनीहरु सबैको घरमा आमाबुवा र भाईबहिनी छन् । उनीहरुले कमाएको रकमबाट बचाएर जसोतसो घरपरिवार चलाउँछन ।

यी बालकहरु एउटा प्रतिनिधि पात्र मात्र हुन्, जनकपुरधाम उपमहानगरपालिकामा प्लाष्टिक संकलन गर्नेको संख्या दर्जनभन्दा बढी छ । यसरी प्लाष्टिक संकलन गर्नेहरुमा अधिकांश ७ देखि १५ बर्षका बालकहरु छन् । होटल, ईटा उद्योग, पसल, यातायातका सवारी साधन लगायतका ठाउँमा पनि बालश्रमिकको कमी छैन् । कतिपय बालबालिका इटा उद्योगमा भारी बोक्न बाध्य छन् । सवारी साधनमा काम गर्ने बालकहरु ज्यानै जोखिममा राखेर काम गर्छन् ।

होटलमा प्लेट, भाडा वर्तन सफा गर्ने बालबालिकाहरु त फोहोरसँगै खेल्न बाध्य हुन्छन । घरको आर्थिक अवस्था कमजोर रहेका कारण कलिला उमेरमै श्रम गर्न बालबालिकाहरु बाध्य बनेका छन् । छोराछोरी पढाउने इच्छा कतिपय अभिभावकको हुँदाहुँदै पनि आर्थिक अभावका कारण श्रम गर्न बाध्य बालबालिकाको संख्या बढिरहेको छ । सरकारले सबैका लागि अनिवार्य निःशुल्क शिक्षा दिने नीति अवलम्बन गरेपनि यस्ता बालकहरुसम्म पुगेको छैन् ।

सडकमा बालबालिका बढ्दै जानु भनेको संयम बालक, परिवार, समाज र राष्ट्रका लागि पीडादायक अवस्था हो । सडकमा आश्रति बालबालिकाले पीडा र अप्ठ्यारो त भोगी नै रहेका छन्, यसका साथै असुरक्षा, खतरा एकतर्फ छ भने अनियमित जीवनको भविष्य अझै कहालीलाग्दो छ । शिक्षाको पहुँचबाट टाढा भई यस्तो कलिलै उमेरमा सडक पेटीमा कवाडा संकलन गरेर जिविकोपार्जन गर्दै आएका बालकहरुका लागि केही गर्ने हो कि सरकार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top