ताजा समाचार


जानकी मन्दिर परिसर भित्र रहेका फोटो सहितको बोर्ड अबिलम्ब हटाउन माग

द रियल समाचार     २०७८ भाद्र ९, बुधबार, १३: १८ मा प्रकाशित




जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिर परिसर भित्र रहेका फोटो सहितको बोर्ड अबिलम्ब हटाउन माग गरिएको छ ।

युवा अभियन्ता सरोज कुमार मिश्रले जानकी मन्दिर परिसर भित्र रहेको मुख्यमन्त्री लालबाबु राउतको फोटो सहितको बोर्ड अबिलम्ब हटाउन माग गरेका हुन् ।

उनले मन्दिर परिसर र पर्खालमा प्रचार प्रसार गर्नेहरु बिरुद्ध उचित कारबाही समेत जरिवानाको ब्यवस्था गर्न सम्बन्धित सरोकारबालासँग माग गरेका छन् । युवा अभियन्ता मिश्रले तिन दिन भित्र उक्त बोर्डहरु नहटाइए आफूहरु सरसफाइ गर्न बाध्य हुने समेत बताएका छन् ।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्,‘जानकी माताको फूलबारी बचाउन नसक्ने सरकार कुन नैतिकताले आफ्नो फोटो सहितको बोर्ड जानकी मन्दिर परिसर भित्र झुण्डाएका छन् ? सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानको नाममा अनियमित कामहरु गरिरहेका छन् । जबकि दिनहु त्यही बेटीहरुमाथि बलात्कार, हत्या, हिंसा, यातनाका घटनाहरु बढ्दै गईरहेको अवस्था छ ।’ उनले अनियमितता गर्न मात्र अभियान सञ्चालन गरेर बेटीलाई बचाउन र पढ़ाउन सकिन्छ र ? भन्दै प्रश्न समेत गरेका छन् ।

बेटीको लागि खोलिएको बीमाको अवस्था के छ ? बेटीहरुको पहुँच शिक्षातर्फ कसरी बृद्धि हुन्छ ? सुशासन र चुस्त शान्ति सुरक्षा कायम गरी बेटीहरु निर्भीकतापूर्वक समाजमा हिड्ने बातावरण कसरी बन्छ ? लगायतका प्रश्नहरु गर्दै उनले त्यस तर्फ दृष्टि नपुगाएका सरकारले बजेट मात्र चलाएर भ्रष्टाचार गर्ने उपाय अवलम्बन गरेको आरोप समेत लगाएका छन् ।

जानकी मन्दिर अथवा अन्य कुनै धार्मिक पर्यटकीय स्थलमा उक्त स्थलको विशेषता, वर्णन र जानकारी बाहेकको कुनै पनि बोर्ड, ब्यानर, पोस्टर, प्रचार मान्य नहुने उनको जिकिर छ । उनले आफूहरु त्यसको विरोध र प्रतिकार गर्न समेत तयार रहेको बताए ।

तस्बिरहरुः सरोज मिश्रको फेसबुक वालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top