ताजा समाचार


वडाध्यक्ष साहले आफ्ना आसेपासेलाई खोप बाँडेको वडासदस्य ठाकुरको आरोप

द रियल समाचार     २०७८ भाद्र ८, मंगलवार, १७: ४४ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ का वडाध्यक्षले आफ्ना आसेपासेलाई कोरोनाविरुद्धको खोप बाँडेको आरोप लागेको छ ।

वडाध्यक्ष शिवकुमार साहले आफ्नो निकटवर्तीलाई वडा कार्यालय भित्र बोलाएर खोप लगाएपछि विवाद चर्किएको हो । सामाजिक सञ्जालमा वडाध्यक्ष साहविरुद्ध उनकै वडा सदस्यहरुले टिकाटिप्पणी गरेका छन् ।

सोही वडाका वडासदस्य राजकुमार ठाकुरले भने,‘हामीलाई अध्यक्षको चेम्बर भित्र प्रवेश निषेध गरिएको छ । भित्र बोलाएर उनले आ–आफ्नो मान्छेलाई खोप बाँडिरहेका छन् । उनले यस्तो कार्य कयौंपटक दोहराएका छन् ।’

ठाकुरले वडाध्यक्ष शिवकुमारले रकम लिएर समेत खोप बाँडेको गुनासो जनताले आफूहरुलाई कयौंपटक गरेको बताए । वडाध्यक्ष साहले शुरुदेखि नै आफ्नो मनोमानी हिसाबले हैकमवादी प्रवृति देखाईरहेको उनको गुनासो छ । उनले वडास्तरीय योजनाहरुमा पनि वडाध्यक्ष साहले एकल निर्णय गरिरहेको बताए । उनले सिफारिसको आधारमा कोभिसिल्डको दोस्रो डोज खोप दिने गरिएको सुनाए ।

वडा नम्बर–२ का सचिव राजेश ढकाल, सदस्यहरु अमित कुमार साह, राजकुमार ठाकुर, शुभ ढुङ्गाना, शिलादेवी महरालगायत कोरोना खोप सम्बन्धी कसैलाई कुनै जानकारी नरहेको उनीहरुले बताए ।

यता, वडाध्यक्ष साहले भने आफूले त्यस्तो कुनैपनि काम नगरेको दावी गरेका छन् । वडासदस्य ठाकुर आफूप्रति पुर्वाग्रही भएर यस्तो आरोप लगाएको उनको दावी छ ।

जिल्ला स्वास्थ्य कार्यालयले वडा नम्बर–२ का लागि पहिलो चरणमा कोभिसिल्ड २२५, भेरोसेल २८८ र जनसन एण्ड जनसन १३५ डोज उपलब्ध गराएको बताइएको छ ।

जनकपुरधामका कतिपय वडामा अग्रिम कार्ड बनाएर वडाध्यक्ष र सदस्यहरुले घर घर पुर्याएको आरोप समेत लाग्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top