काठमाण्डौ । लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा विमानस्थलबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन खैरेनी–१० बस्ने २९ वर्षीय बुद्धिराज पाठक रहेको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा पाठकलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
विमानस्थल प्रहरीका अनुसार स्क्रिनिङका क्रममा पाठकले लगेजमा आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा राखिएको भेटिएको थियो ।
पक्राउ गरेर विमानस्थल प्रहरीले लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाएको प्रसाईंले बताए ।
प्रतिक्रिया