ताजा समाचार


माधव र महन्थ समूहले नयाँ दल दर्ताको प्रमाणपत्र पाए लगत्तै अध्यादेश निस्क्रिय बनाउने देउवाको तयारी

द रियल समाचार     २०७८ भाद्र ८, मंगलवार, १३: ३९ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल समूह र महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गरेको प्रमाणपत्र पाए लगत्तै राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय बनाउने तयारी गरेका छन् ।

नेपालले नेकपा एमालेबाट अलग भएको घोषणा गर्दै निर्वाचन आयोगमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका छन् । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएका महन्थ ठाकुर समूहले पनि आयोगमा नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।

देउवाले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएर सहज बनाइदिए पछि नेपाल र ठाकुरले नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका हुन् ।आयोगले नेपाल र ठाकुर दुवै समूहलाई दलको सनाखत गर्न बुधबार आयोगको कार्यालयमा बोलाएको छ ।

‘माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताको प्रमाणपत्र पाएको एक साताभित्र अध्यादेश निस्क्रिय पार्ने तयारी प्रधानमन्त्रीले गरिरहनु भएको छ,’ प्रधानमन्त्री देउवा निकट स्रोतले बतायो । स्रोतका अनुसार यस कार्यका लागि प्रधानमन्त्री देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएका छन् ।

देउवाले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशमा दलबाट फुटेर नयाँ दल दर्ता गर्न संसदीय दल वा केन्द्रीय समिमिमा २० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि दल फुटाएर नयाँ दल दर्ता गर्न संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्था थियो । देउवाले अध्यादेश ल्याएर सहज बनाइदिएपछि नेपाल र ठाकुरले नयाँ दल दर्ता गर्न लागेका हुन् ।

संविधान अनुसार अध्यादेश तीन तरिकाबाट मात्र निस्क्रिय हुन्छ । पहिलो, अध्यादेश जारी भएको ६० दिनसम्म संसदमा पेस नभएमा, दोस्रो, संसदका दुवै सदनले अस्वीकृत गरेमा र तेस्रो, मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति कार्यालयबाट फिर्ता लिएमा ।

स्रोतका अनुसार राजनीतिक दल सम्बन्धी अध्यादेशका कारण नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालमा पुनः विभाजन आउन सक्ने संकेत देखिएपछि प्रधानमन्त्री देउवा अध्यादेशलाई छिटोभन्दा छिटो निस्क्रिय बनाउने निर्णयमा पुगेका हुन् ।

–फरकधार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top