ताजा समाचार


एक दिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

द रियल समाचार     २०७८ भाद्र ८, मंगलवार, १३: १६ मा प्रकाशित




काठमाण्डौ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज तथा पपुवा न्युगिनीसँगको एक दिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टोली मंगलबार बिहान ओमान प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली आज बिहान ८ बजे सलाम एयरमार्फत ओमान प्रस्थान गरेको हो ।

नेपालले सेप्टेम्बर १३ देखि २० (भदौ २८ देखि असोज ४) सम्म घरेलु टोली ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने छ । सिरिजको खेल तालिका भने सार्वजनिक भइसकेको छैन ।

लिग अन्तर्गत नेपालको यो दोस्रो त्रिकोणात्मक सिरिज हो । उसले गत वर्ष घरेलु मैदानमा ओमान र अमेरिकासँगै पहिलो सिरिज खेलेको थियो । जसमा नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गर्दा ओमान विरुद्धको दुई खेल गुमाएको थियो ।

लिगमा ओमान १० खेलबाट १६ अंकका साथ शीर्ष स्थानमा रहँदा अमेरिका १२ खेलबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ । ४ खेलबाट ४ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनिसँग २ खेलको एक दिवसीय सिरिज खेल्ने छ ।

सिरिजका खेल सेप्टेम्बर ५ र ८ (भदौ २० र २३) मा हुनेछन् । क्यानले ओमान भ्रमणका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), कुशल भुर्तेल, आरिफ शेख, गुल्शन झा, कुशल मल्ल, विनोेद भण्डारी (विकेटकिपर), शरद भेषवाकर, विक्रम सोब, पवन सरार्फ, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, करण केसी, सोमपाल कामी, अविनाश बोहरा र सुशन भारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top