ताजा समाचार


भारतमा कोरोना संक्रमितको संख्या १६० दिन पछिकै सबैभन्दा कम

द रियल समाचार     २०७८ भाद्र ७, सोमबार, १८: ५४ मा प्रकाशित




एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै आएकामा अहिले एकाएक २५ हजारमा झरेको हो । दैनिक सङ्क्रमितहरुको सङ्ख्या कम भएपछि भारतका कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख हुँदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या ३ करोड २४ लाख ४९ हजार ३०६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४४ हजार १५७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या ३ करोड १६ लाख ८० हजार ६२६ पुगेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ३ लाख ३३ हजार ९२४ पुगेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या १५५ दिन पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कूल ४ लाख ३४ हजार ७५६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ३८९ जनाको मृत्यु भएको हो । कोरोना परीक्षण पनि तीव्र रुपमा भइरहेको छ । पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म कूल ५० करोड ७५ लाख ५१ हजार ३९९ जनाको परीक्षण भएको छ । त्यसैगरी भारतमा अहिलेसम्म कूल ५८ करोड २५ लाख ४९ हजार ५९५ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top