ताजा समाचार


पत्रकारलाई लागूऔषध घटनामा फसाउन खोजेका दुई जना पक्राउ, मुख्य योजनाकार महासंघका सह–सचिव

द रियल समाचार     २०७८ भाद्र ७, सोमबार, १७: ०४ मा प्रकाशित




रौतहट । रौतहटमा एक पत्रकारले नै अर्को पत्रकारलाई लागू औषध कारोबारमा संलग्न रहेको भन्दै फसाउन खोजेको घटना सार्वजनिक भएको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह–सचिव संजय सहनीले प्रहरीसँग मिलेर पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा फसाएको घटना सार्वजनिक भएको हो ।

यस घटनाको मुख्य योजनाकार सह–सचिव सहनी नै रहेको प्रहरी अनुसन्धानमा देखिएको छ । सहनीले योजनाबद्ध रुपमा प्रहरीसँग मिलेर मोजुबुल्लाहको मोटरसाइकलमा लागूऔषध राख्न लगाएको खुलेको छ ।

साउन ३२ गते पत्रकार मोजुबुल्लाह चढ्ने भारतीय नम्बर प्लेट बीआर ३० एस १८८७ को मोटरसाइलबाट लागू औषध नाइट्रोभेट प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमावा प्रहरीको टोलीले पत्रकार मोजुबुल्लाह र शेख उतिउल्लाहलाई नियन्त्रणमा लिएको थियो ।

सह–सचिव सहनीले रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिकाका २३ वर्षीय जितेश कुमार यादवलाई दिएको निर्देशन अनुसार पत्रकार मोजुबुल्लाहले चढ्दै आएको मोटरसाइकलमा १ सय ५ वटा लागूऔषध नाइट्रोभेट राखेको थियो ।

त्यसपछि प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहलाई बोलाएर पक्राउ गर्न लगाएको थियो । दुई जना प्रहरीले सह–सचिव सहनीको योजनामा साथ दिएको देखिएपछि ति दुवैलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक शिद्धविक्रम शाहले जानकारी दिए ।

प्रहरीले लागूऔषध राखेका धिरज यादव र जितेशकुमार यादवलाई नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ । रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मोजुबुल्लाहलाई रौतहट प्रहरीले योजनावद्धरुपमा लागू औषध घटनामा फसाएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले दाबी गर्दै आएका थिए ।

सीसिटिभी फुटेजमा गौरस्थित ग्रिन सिग्नल होटेल अगाडि साँझ ७ बजे सडक पेटिमा राखिएको मोटरसाइकलमा केही व्यक्तिहरूले केही सामानहरू झुण्डाइरहेको देखिएको थियो । सिसिटिभि फुटेजको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top