ताजा समाचार


देशभरका ४१ स्थानीय तहले दिवा खाजा कार्यक्रममा गरे व्यापक अनियमितता, प्रदेश २ का अधिकांश

द रियल समाचार     २०७८ भाद्र ४, शुक्रबार, १८: २४ मा प्रकाशित




जनकपुरधाम । देशभरका अधिकांश स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुमा विद्यार्थीका लागि सञ्चालन गरिएको दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता गरेको पाइएको छ ।

कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेबाट लकडाउन भई विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहहरुले विद्यालयलाई रकम निकासा गरेको पाइएको हो । जसमध्ये अधिकांश प्रदेश २ कै स्थानीयतहहरु रहेका छन् ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदन अनुसार धनुषाको सबैला नगरपालिकाले १ करोड १३ लाख, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, सिरहाको सिरहा नगरपालिकाले १ करोड ३८ लाख, रौतहटको फतुवा विजयपुर नगरपालिकाले ९७ लाख, गरुडा नगरपालिकाले ७७ लाख समेत गरि देशभरका २८ नगरपालिकाले २०७७ बैशाख, जेठ र असार महिनामा वास्तविकता यकिन नगरी दोस्रो र तेस्रो चौमासिकको पुरै दिवा खाजा १४ करोड २१ लाख ६८ हजार ५८२ रुपैयाँ विद्यालयहरुलाई निकासा गरेको देखिएको छ ।

त्यस्तै, दुर्गा भगवती गाउँपालिका रौतहटले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गाउँपालिका रौतहटले ७४ लाख ९९ हजार, छिन्नमस्ता गाउँपालिका सप्तरीले ५९ लाख ८६ हजार, जनक नन्दिनी गाउँपालिका धनुषाले ५५ लाख ९६ हजार, कौडेना गाउँपालिका सर्लाहीले ५४ लाख ७२ हजार समेत देशभरका १३ वटा गाउँपालिकाले १६६ वटा विद्यालयहरूलाई २०७७ बैशाख, जेठ र असारमा दोस्रो र तेस्रो चौमासिकको दिवा खाजाको ६ करोड ३ लाख ५६ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

दिवा खाजा रकम विद्यालयलाई निकासा दिँदा अभिभावकलाई नगदै वितरण गर्ने व्यवस्था नभएको अवस्थामा रौतहटस्थित परोहा नगरपालिकाले यस वर्ष अभिभावकलाई नगदै बुझाउने गरी दिवा खाजा वापत १ करोड १७ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयले विद्यालय बन्द भएको अवस्थामा उक्त अवधिको खाजा रकम यकिन गरी असुल गर्नुपर्ने ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top