ताजा समाचार


प्रदेश २ : महन्थ पक्षले सरकारबाट समर्थन फिर्ता लिने सम्भावना, सरकारमाथी खासै असर नपर्ने

द रियल समाचार     २०७८ भाद्र ४, शुक्रबार, १५: ३३ मा प्रकाशित




जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी विभाजनको अध्यादेश जारी गरेलगत्तै त्यसको असर जनता समाजवादी पार्टी (जसपा) माथि पनि परेको छ ।

पार्टीको आधिकारिकता विवादबारे परेको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएपछि जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च समेत गएका थिए । न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

पार्टीले एक जना मात्रै अध्यक्ष रहनेगरी निर्वाचन आयोगमा कार्यकारिणी समितिलाई अद्यावधिक गराएपछि जसपा विवादमा पार्टीको आधिकारिकता आफ्नो पक्षमा पारेका अध्यक्ष उपेन्द्र यादवले नयाँ समिति अभिलेखीकरण गराए । यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले समितिलाई ३५ जना सदस्य रहनेगरी अद्यावधिक गराएको थियो । सोही बैठकको निर्णयअनुसार आयोगले जसपाको कार्यकारिणी समितिलाई अद्यावधिक गर्यो ।

अध्यक्ष यादवले पार्टीको कार्यकारिणी समितिलाई आयोगमा अद्यावधिक गराएसँगै अर्का अध्यक्ष महन्थ ठाकुरको पद कानुनतः खारेज भयो । त्यसपछि महन्थ कानुनअनुसार जसपाको अध्यक्ष पदबाट हटे । अध्यक्ष यादवले महन्थसँगै उनको पक्षमा रहेका १६ जना कार्यकारिणी समिति सदस्यहरुको पद पनि खारेज गरिदिए । ठाकुरसँगै राजेन्द्र महतो, शरतसिंह भण्डारी, उमाशंकर अरगरिया लगायतका नेताहरु साधारण सदस्यमा सीमित बने ।

तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर २०७७ वैशाखमा जसपा गठन भएको थियो । जसमा ५१ सदस्यीय कार्यकारिणी समिति सदस्य रहेका थिए । जसमध्ये ३४ जना यादव पक्षमा उभिँदा १६ जना ठाकुर पक्षमा थिए । प्रदेश २ को ५ वटा जिल्ला र लुम्बिनी प्रदेशको एक जिल्लामा उपेन्द्र यादवको विरुद्धमा भण्डाफोर अभियान चलाउँदै महन्थ पक्ष कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन गरेको देखियो ।

पार्टी विभाजन पश्चात महन्थ पक्ष यस प्रदेशमा उपेन्द्र नेतृत्वको जसपा भन्दा कमजोर देखिएको छ । देउवा सरकारले २० प्रतिशतमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए ।

जसपा गठनपूर्व राजपा नेपालसँग २५ जना प्रदेशसभा सदस्य थिए । अहिले सो मध्ये ९ जना उपेन्द्र यादव पक्षमा खुलिसकेका छन् । महन्थ ठाकुर पक्षका नेता समेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साहले तत्कालिन राजपा नेपालको भन्दा अवस्था कमजोर देखिएको बताए । उनले भने,‘पार्टी एकीकरण गर्नुपूर्व राजपा नेपालले प्रदेश २ मा जिल्ला तथा प्रदेश स्तरमा समेत अध्यक्ष मण्डल गठन गरेर पार्टी सञ्चालन गरिरहेको थियो । राजपा रहँदा अध्यक्ष मण्डल बनाएर प्रदेश तथा जिल्ला कमिटी पनि सञ्चालन भएको थियो ।’

जिल्ला तथा प्रदेश स्तरीय कमिटि गठनको आन्तरिक तयारीमै रहेको बेला समाजवादी पार्टीसँग एकता भएर जसपा बन्यो,उनले भने,‘हामीसँग राजपाको जिल्ला कमिटी तथा प्रदेश कमिटी नै थिएन । त्यसको आन्तरिक तयारीमै रहेको बेला जसपा पनि विभाजनको अवस्थामा पुगेको र को कता लाग्ने भन्ने बिषय अझै पनि अन्यौल छ ।’

नेता साहले निर्वाचन आयोगले दल विभाजन सम्बन्धी जारी गरेको अध्यादेश अनुसार दल छुट्याउनका लागि प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिका लागि २१ दिनको समयसिमा तोकेकोले यकिनरुपमा संगठनात्मक अवस्था भन्नका लागि केहि समय चाहिने बताए । उनले आफ्नो पक्षमा रहेका २५ जना प्रदेशसभा सदस्य मध्ये ९ जना उपेन्द्र पक्षमा लागेपछि आफूहरु अहिले केहि कमजोर भएको स्वीकार समेत गरे । नयाँ पार्टी निर्माणमा अवश्य पनि केहि समय लाग्ने र आधार क्षेत्र अवश्य पनि बलियो निर्माण हुने साहको विश्वास छ ।

प्रदेश २ मा सरकार बनाउनुपूर्व तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच गठबन्धन गरी सरकार बनेको थियो । दुबै दल मिलेर जसपा नेपाल बनेसँगै सरकारको बागडोर सम्हालिरहेका जसपासँग ५५ जना सांसद हुन पुग्यो । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी भएलगत्तै जसपा नेपाल विभाजित हुँदा प्रदेश २ मा भने उपेन्द्र यादव नेतृत्वको जसपा बलियो देखिएको छ ।

तत्कालिन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनिष सुमन आफू अहिले मुल पार्टीमै रहेको बताउँछन् । उनले भने,‘मैले न कित्ताकाट गरेको छु, न त मुल पार्टी नै छोडेको छु । जसपामै विगतमा पनि थिएँ र अहिले पनि छु ।’ उनले महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा जानका लागि पार्टी फोड्न समेत उद्धत देखिएको आरोप लगाए । सुमनले ओली सरकारमा समय व्यतित गरेर पार्टीको नाम समेत बदनाम गर्न पछि नपरेकाहरुले गुट र समुहमा रमाउने भएकाले उनीहरुले गुट स्थापना गरेको भन्दै महन्थ ठाकुरको आलोचना समेत गरे ।ओली जस्ता प्रतिगामीको काँध थाप्न मरिहत्ते गरेकोले प्रदेश २ मा महन्थ पक्षको जनाधार निकै कमजोर रहेको सुमनको भनाइ छ ।

उपेन्द्र यादव पक्षसँग ३० जना प्रदेशसभा सदस्य रहेकोमा अहिले ३९ जना छन् भने महन्थ पक्षका २५ मध्ये ९ जना उपेन्द्र पक्षमा लागेपछि अहिले १६ जना मात्रै छन् ।

ठाकुर पक्षमा लागेकाहरु प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव, प्रदेशसभा सदस्यहरु मनिष समुन (सप्तरी), पूर्व राज्यमन्त्री सुरेश कुमार मण्डल (सिरहा), रानी शर्मा तिवारी (महोत्तरी), डा. रिना यादव (महोत्तरी), डा. अञ्जुकुमारी यादव (पर्सा), विदेश्वर प्रसाद यादव (सप्तरी) र नेत्रविक्रम साह (सप्तरी) अहिले उपेन्द्र यादव पक्षमा लागेका छन् । त्यस्तै, महन्थ ठाकुर पक्षबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा चुनाव जितेका लालकिशोर साह र राजविराज नगरपालिकाका मेयर शम्भु यादव समेत उपेन्द्र पक्षमा लागेका छन् ।

सरकारबाट समर्थन फिर्ताको सम्भावना

पार्टी विभाजन पश्चात महन्थ ठाकुर पक्षले प्रदेश २ सरकारबाट समर्थन फिर्ता लिने तयारी समेत गरिरहेकोे छ । प्रदेशसभा सदस्य परमेश्वर साहले दल दर्ताको प्रक्रियामा रहेकोले प्रमाण पत्र पाएलगत्तै सरकारबाट समर्थन फिर्ता लिने विषयमा निर्णय लिने जानकारी दिए ।

प्रदेश सरकारबाट महन्थ पक्षले समर्थन फर्ता लिएपनि सरकारमाथी खासै संकट नआउने देखिएको छ । प्रदेश सरकारमा जसपाका साथै नेपाली कांग्रेस र माओवादी केन्द्र समेत शामिल रहेकाले प्रदेश सरकारमाथी खासै असर नपर्ने देखिएको छ ।

प्रदेश नम्बर २ मा अहिले जसपा नेपाल, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयूक्त सरकार छ । प्रदेशसभामा जसपाका ५५ मध्ये उपेन्द्र पक्षका ३९ र महन्थ पक्षका १६ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै, नेकपा एमालेका २१ जना छन् । जसमध्ये माधव नेपाल पक्षमा १३ र केपी ओलीको पक्षमा ८ जना रहेका छन् । त्यस्तै, नेपाली काँग्रेसका १९ जना, नेकपा माओवादी केन्द्रका ८ जना र नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन् ।

उपेन्द्र यादव पक्षका सांसदहरु :

१) डा. अन्जु कुमारी
२) अब्दुल रहिम अंसारी
३) अभिशेष यादव
४) अशोक कुमार यादव
५) उपमा कुमारी देव (उपसभामुख)
६) उषा कुमारी यादव
७) करिमा बेगम
८) किरण कुमारी राय
९) कौशल कुमार यादव
१०) चमेली देवी दास
११) जनत अंसारी
१२) नवल किशोर साह सुडी
१३) नेत्र विक्रम शाह
१४) पारस प्रसाद साह
१५) प्रहलाद गिरी गोस्वामी
१६) बच्चा राउत अहिर
१७) बिदेश्वर प्रसाद यादव
१८) भिमा यादव
१९) मनिष कुमार सुमन
२०) योगेन्द्र राय यादव
२१) रागिनी देवी वरनवाल
२२) रानी कुमारी तिवारी
२३) रामअशिष यादव
२४) राम किशोर प्रसाद यादव
२५) राम नरेश राय
२६) डा.रीना यादव
२७) लालबाबु राउत
२८) विजय कुमार यादव
२९) शेख अवुल कलाम आजाद
३०) शैलेन्द्र कुमार यादव
३१) शैलेन्द्र प्रसाद शाह
३२) सन्चमाया मोक्तान
३३) संजय कुमार यादव
३४) सरोज कुमार सिंह
३५) सारदा शंकर प्रसाद कलवार
३६) सुनिता देवी मोची
३७) सुरेश कुमार मण्डल
३८) सिंगासन सा कलवार
३९) ज्ञानेन्द्र कुमार यादव

महन्थ ठाकुर पक्षका सांसदहरु :

१) परमेश्वर साह सुडी
२) जयनुल राइन
३) सुरिता कुमारी साह
४) अभिराम शर्मा
५) उपेन्द्र महतो
६) गौरी नारायण साह तेली
७) बाबुलाल साह कानु
८) सरोज कुमार यादव (सभामुख)
९) जितेन्द्र प्रसाद सुनार
१०) रमेश प्रसाद कुर्मी
११) अल्का कुमारी झा
१२) डा. डिम्पल कुमारी झा
१३) जानकी शरण साह
१४) निरा कुमारी साह
१५) निलम देवी भूमिहारीन
१६) बबिता कुमारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top