जनकपुरधाम । पदमा रहँदासम्म आफूलाई हैसियत अनुसारको जिम्मेवारी नदिइएको भन्दै असन्तुष्टि जनाउँदै आएका प्रदेश २ का पूर्व आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदमुक्त भएपछि सरकारी गाडीसहित १८ वटा सामान आफूसँगै लिएर गएका छन् ।
पदमा रहेसम्म मन्त्रालयभित्र हुने कुनै पनि कामको आफूलाई कुनै जानकारी नहुने गरेको र राज्यमन्त्रीलाई कुनै अधिकार नै नदिइएको उनको गुनासो हुन्थ्यो । उनले आफू मन्त्रालयमा आएर मात्र कुर्सीमा बस्ने बाहेक अन्य कुनै काम नगरेको बताउँथे । तर, राजीनामा दिएर घरफिर्ता भएसँगै राज्यकोषबाट प्रयोग गर्दै आएका प्रदेश २–०२ ००१ झ ००६२ नम्बरको गाडीलगायतका १८ वटा अन्य सामानहरु सँगै लिएर गएका छन् ।
आफ्नो निवासमा सुरक्षा प्रयोजनका लागि मन्त्रालयकै खर्चमा लगाइएको ५ थान सीसीटिभी क्यामेरालगायत एसि १ थान, सोफा १ सेट, कम्प्यूटर १ थान, प्रदेश २–०२–००१ ब ००३५२ नम्बरको मोटरसाइकल १ थान, मोनिटर १ थान, टि–टेबल ३ थान, ट्रेड विल १ थान, प्रिन्टर १ थान, ल्यापटप १ थान, गाडी धुने मेशिन १ थान, भ्याकुम क्लिनर १ थान, मोवाइल १ थान, स्टिल कुर्सी १ थान, प्लास्टिक कुर्सी १२ थान, जाली कुर्सी ४ थान, कम्प्यूटर टेबल १ थानलगायतका सामानहरु राजीनामा दिएसँगै आफूसँगै लिएर गएको मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए ।
उनले सरकारी कोषबाटै खरिद गरिएका ती सामानहरु आफ्नो निवासमा प्रयोग गर्दै आएका थिए । सूचना अधिकारी भगतले राज्यमन्त्री कुशवाहाले मन्त्रालयले उपलब्ध गराएको गाडी पनि अहिलेसम्म प्रयोग गर्दै आइरहेको र मन्त्रालयलाई फिर्ता नबुझाएको जानकारी दिए ।
उनले पटक पटक सामानहरु फिर्ता गर्न ताकेता गर्दा समेत पूर्व राज्यमन्त्री कुशवाहाले वेवास्ता गर्दै आएको गुनासो गरे ।
यता पूर्वराज्य मन्त्री कुश्वाहाले आफूले मन्त्री पदबाट हटेलगत्तै सबै सामाहरु फिर्ता गरिदिएको दावी गरेका छन् । उनले कुनै सामान आफूमाथि बाँकी रहे मन्त्रालयलाई पत्र पठाउन आग्रह समेत गरे ।
प्रदेश २ सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा पदाधिकारीको पारिश्रमिक, भत्ता तथा इन्धनमा मात्रै २५ करोड भन्दा बढी रकम खर्च गरेको देखिएको छ ।
मुख्यमन्त्री, ६ मन्त्री र ६ राज्यमन्त्री गरी कुल १३ जना पदाधिकारीले १२ महिनाको अवधिमा पारिश्रमिक, बैठक भत्ता, अन्य सुविधा र इन्धनमा गरी कुल २५ करोड ३१ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरका प्रमुख राधेश्याम गिरीले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउन मुख्यमन्त्री लालबाबु राउतले गत साउन २ गते आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री कुशवाहालाई राजीनामा दिन लगाएर सरकारबाट फिर्ता बोलाएका थिए । अहिले सो मन्त्रालयको मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत साह र राज्यमन्त्रीमा रुवी कर्ण छन् ।
प्रतिक्रिया