–ज्योति झा
पत्रकारलाई देशको चौथो अंग र समाजको ऐनाको रुपमा परिचित गरिएको छ । समाज र देशमा भईरहेको राजनीतिक, आर्थिक, सामाजिक गतिविधिलाई आम जनताको अगाडी छर्लङ्ग र सत्य तथ्य ल्याउने भनेको पत्रकारले नै हो ।
कसैले सही गरेको छ भने सबैको सामु आफ्नो कलमको बलमा स्याबासी दिलाउने र कसैले गलत, अन्याय, भ्रष्टाचार गरेको छ भने उसको पर्दाफास गर्ने काम पनि पत्रकारले नै गर्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कहाँ के भइरहेको छ, त्यो सबै कुरा हामी मिडियाकै माध्यमबाट थाहा पाउँछौ । साधन चाहे टिभी, रेडियो अथवा पत्रपत्रिका जे भएपनि माध्यम भनेको पत्रकार नै हो र खबरलाई बाहिर ल्याउन पत्रकारको पछाडिको मिहिनेत अत्यन्त महत्वपूर्ण हुन्छ ।
पत्रकारिता पेशा त्यस्तो पेशा हो जहाँ न दिन हुन्छ न रात, न घाम न त वर्षात, न भूकम्प न कोरोना जस्तो महामारी । हुन्छ भने त्यो हो आफ्नो पेशाप्रतिको इमान्दारिता र समाजप्रतिको दायित्व एवं समाजलाई घटनाबाट अवगत गराउने थुप्रै प्रयासहरु ।
तर अचम्मको कुरा के छ भने अरूको हकअधिकार दिलाउनलाई हरसम्भव प्रयास गर्ने पत्रकार नै आफ्नो अधिकारबाट वञ्चित र पारिश्रमिकबाट शोषित छन् । अरूको सेवा, धर्म निर्वाह गर्ने पत्रकारले आखिरमा पाउँछ के ? दुश्मनी, ज्यान मार्ने धम्कि, कम ज्यालादारी र माथिबाट भ्रष्टाचारीको आरोप ! म यो भन्दिन कि पत्रकारले भ्रष्टाचारी गरेको छैन्, गरेको छ र मैले त्यो कुरालाई नकारेको पनि होइन् । तर एक जनाको गल्तीका कारण हरेकलाई त्यही दृष्टिले हेर्नु कति को उचित होला त ?
यदि कुनै पत्रकारले भ्रष्टाचारी गरेकै छन् भने किन होला त्यो हामीले कहिल्यै बुझ्ने प्रयास गरेका छैनौं । पत्रकारका लागि निर्धारित पारिश्रमिक पत्रकारले पाउँदैनन् र कहीं कसैले पाइरहेको छ भने त्यो पनि समयमा पाउँदैनन् ! के पत्रकारको जीवन छैन् अथवा पत्रकारको परिवार नै हुँदैन कि कसो ? आफ्नो पेशाका कारण न त परिवारमा समय दिन पाउँछन् न त राम्रो ज्याला नै ! न त परिवारसँग बसेर एकछिन कुरा गर्न सक्छन् न त बच्चासँग खेल्न नै ।
जुन कारणले गर्दा कतिको सम्बन्ध विच्छेद पनि भइसकेको छ भने कतिको मनमुटाव हुन्छ । र यी सबैका बीच पत्रकारले घरदेखि बाहिरसम्म मानसिक, आर्थिक समस्या बाहेक केही पाउँदैनन् । यहाँ जताततै मिडिया हाउसहरु खुलिसकेका छन् । तर त्यसको व्यवस्थापनमाथि सरोकारवालालाई कुनै चासो छैन् । जति खेर मन लाग्यो काममा लगाउने र जतिखेर मन लाग्यो कामबाट निकाल्ने प्रवृति छ अधिकांश मिडिया हाउसहरुको । तर त्यसको समाधानको कुनै उपाय छैन् । एक त कम ज्यालादारी र त्यसमाथि पनि कामको कुनै ग्यारेन्टी नै हुँदैन् ।
मलाई सबभन्दा ठूलो समस्या त के लाग्छ भने भर्खर एसइई पास गरेका बालबालिकालाई राखेर मिडिया हाउसले निःशुल्क काम गराउँछन् । तर जसको जीवन नै समर्पण भयो पत्रकारितामा उसले आवाज उठाउँदा, ज्याला माग्दा कामबाट हटाउने प्रवृति झन बढेको छ ।
यसले त झन् पत्रकारिताको मजाक पो बनाइएको जस्तो मलाई लाग्छ । बरु दुई/चार वटा मात्र मिडिया हाउस होस तर व्यवस्थित होस् ।पत्रकारले तोकिए जतिको ज्याला र आफ्नो ज्यानको सुरक्षा पाओस् । पत्रकारका लागि पनि बिमा, पेन्सन जस्तो सुविधा लागू होस । जसबाट देशको चौधो अंगलाई हौसला भेट्ने छ र स्वच्छ पत्रकारिता हुनेछ ।
देशको उन्नति, प्रगतिका लागि नेता, प्रहरी, पत्रकार इमान्दार भइदिँदा देशको उन्नतिलाई कसैले छेक्न सक्दैन । तर यहाँ कुर्सीमा आराम गर्नेलाई गाडी घोडा सबै सुविधा छ भने घाम र पानीमा निरन्तर काम गर्ने प्रहरी एवं पत्रकारको ज्याला कम छ । यस्तो अवस्थामा हामी कसरी भ्रष्टाचारमुक्त समाज र देशको निर्माण गर्न सक्छौं ?
यसतर्फ सबैको ध्यान जाओस् भन्ने आशा गर्दछु ।
(लेखक नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष हुन्)
प्रतिक्रिया